बैशाख १७, २०८१, सोमबार
               

निजी अस्पतालमा कोरोना उपचार : प्रतिबिरामी सरकारबाट ७ हजार लिएर ७ सय मात्रै खर्च
कोरोनाभन्दा खाना र पानीले बिरामी भएका सङ्क्रमित मानसिक तनावमा

ADVERTISEMENT

कोरोना सङ्क्रमण पुष्टि भई निजी अस्पतालमा आइसोलेसनमा राखिएका व्यक्तिहरू कोरोनाले भन्दा पनि खाना र पानीका कारणले झन बिरामी पर्न थालेका छन् । कोरोना सङ्क्रमितहरू सफा पानी, स्वस्थ खाना र शौचालयको समस्याका कारण मानसिक तनावमा परेका हुन् । आइसोलेसन वार्डमा खाना र पानीकै सबैभन्दा ठूलो समस्या रहेको संक्रमितहरुले गुनासो गरेका गरेका छन् ।

कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै निजी अस्पताललाई सरकारले प्रतिसङ्क्रमित दैनिक सात हजार दिएको छ । तर, निजी अस्पतालले  प्रतिबिरामी सात सय पनि खर्च गरेको देखिँदैन ।

सामान्य लक्षण भएका बिरामीको उपचारबापत सम्बन्धित अस्पतालले प्रतिदिन तीन हजार पाँच सय, मध्यम जटिल बिरामीको उपचारबापत सात हजार पाउँछन् । धेरैजसो सामान्य अस्पतालमा सामान्य लक्षण भएका र मध्यम जटिल लक्षण भएका बिरामी छन् । यस्तै, निजी अस्पतालले जटिल अवस्थाका बिरामीको उपचारबापत १५ हजारमा नबढ्ने गरी शुल्क लिन पाउने भनेर दररेट तोकिदिएको छ ।



लापरबाही र गुणस्तरहीन सेवामा मेगा अस्पताल अगाडि

सरकारले तोकेकै शुल्कमा १६ वटा निजी अस्पतालले कोरोना सङ्क्रमितको उपचार गरिहरेका छन् । स्वास्थ्य मन्त्रालयको समन्वयमा कोरोनाका बिरामी पठाउने र उनीहरूको खर्चसमेत सरकारलेनै व्यहोर्ने गरी उनीहरुले सरकारसँग सम्झौता गरेका छन् ।

सरकारको समन्वयमा काठमाडौं उपत्यकामा सात र उपत्यकाबाहिरका नौ वटा निजी अस्पतालले कोरोना सङ्क्रमित बिरामीको उपचार गरिरहेका छन् ।

तर, ती अस्पतालले सङ्क्रमितको उपचार खर्चस्वरूप सरकारबाट धेरै शुल्क लिने गरे पनि सेवा भने दैनिक मुस्किलले पाँच सय रुपैयाँको दिने गरेका निजी अस्पतालमा आइसोलेसनमा बसेका सङ्क्रमितको गुनासो छ । सरकारले दिने रकमको कुल मुस्किलले १० प्रतिशत मात्र आफूहरूले पाएको सेवा सुविधामा खर्च भएको उनीहरु बताउँछन् ।

निजी अस्पतालमध्ये सबैभन्दा अस्तव्यस्त गुणस्तरहीन सेवा दिने अस्पतालमा अग्रपंक्तिमा ललितपुरको मेगा अस्पताल देखिएको छ । जहाँ गुणस्तरहीन खाना, अव्यवस्थित र फोहोर शयनकक्ष, फोहर बरन्डा छ । त्यहाँको पूर्वाधार हेर्दा सरकारले कोरोना सङ्क्रमित उपचार गर्ने अस्पतालको मापदण्डमै पर्दैन । तर,  अनुमति पाएको सो अस्पताललाई अहिले त्यहाँ भएका सङ्क्रमित धान्न धौ–धौ देखिएको छ । अस्पताललाई सरकारले नै शुल्क दिने भए पनि बिरामीको खानपान र स्वास्थ्यमा  उसले गम्भीर लापरबाही गरिरहेको छ ।


खानै नसकिने खाना सधैँ फाल्नुपर्छ

कोरोना सङ्क्रमितहरुलाई रोग प्रतिरोधात्मक शक्ति बढाउन तातोपानीका साथै पोसिलो खानेकुरा दिनुपर्छ । तर, मेगा अस्पतालले पौष्टिक खाना कहिल्यै दिएको छैन । बिहान चिया, बिस्कुट र एउटा अण्डा दिने गरेको छ । खानामा भात, दाल र दुई टुक्रा आलुको तरकारी मात्रै पाएको सङ्क्रमितहरूको गुनासो छ ।

मेगा अस्पतालको आइसोलेसनमा रहेका सङ्क्रमित भन्छन्, ‘भात पनि खानै नसकिने हुन्छ, धेरैले खान नसकेर फालेको देखिन्छ, दाल पनि छोक्रा नभएको, धमिलो नुनपानीजस्तो मात्रै दिइन्छ, तरकारी पनि थोरै मात्रै, सधैँ एकैखालको खाना खाँदा वाक्क भएका छौँ ।’ दिउँसो  चिया बिस्कुट र रातको खानामा पनि बिहानको जस्तै दिइने गरिएको छ ।

यस्तो खानाका कारण आइसोलेसनमा रहेका बिरामी झनै बिरामी भइएला कि भन्ने चिन्ता व्यक्त गरेका छन् । तिनै निजी अस्पतालले सरकारले तोकेको शुल्कप्रति आपत्ति जनाएका थिए । प्रतिदिन अझै बढी शुल्क दिनुपर्ने उनीहरूको माग थियो ।

मेगा अस्पतालमा लिफ्टसमेत बिग्रिएको छ । गम्भीर बिरामी हिँडेरै तलमाथि गर्नुपर्ने बाध्यता छ भने अर्कोतिर समयमै खाना नआउँदा बिरामी छटपटिने गरेका छन् । पानीसमेत समयमा नदिइएको बिरामी बताउँछन् । अस्पतालको ल्याबमा केही मेसिन भए पनि प्राय: बिग्रिएका छन् । अस्पतालको त्यस्तो वातावरणबाट सङ्क्रमित मानसिक तनावमा परेका छन् ।



शौचालय र बरन्डामा छैन सरसफाइ

अस्पतालमा सङ्क्रमित राखिएको तलामा रहेको शौचालय फोहोर हुन थालेको छ। शौचालय प्रयोग गर्ने मानिस बढिरहेका र सरसफाइ कत्ति पनि नहुने गरेकाले सङ्क्रमित झनै अप्ठेरोमा छन् ।

सरसफाइका कर्मचारी आउने नगरेको र अतिरिक्त रुपमा थपिएको फोहोर व्यवस्थापन नहुँदा शौचालय फोहोर भएको आइसोलेसनमा बसेकाहरूको भनाइ छ । यस्तै, अस्पतालको छतमा कपडा धोएको पानीले बरन्डा र भर्‍याङ चिप्लो हुने र दुर्घटनाको खतरा रहेको छ ।

कोरोना सङ्क्रमित उपचार हुने काठमाडौं उपत्यकाका निजी अस्पताल

जनमैत्री अस्पताल
बयोधा अस्पताल
काठमाडौं मेडिकल कलेज सिनामंगल
मेघा अस्पताल ललितपुर
कान्तिपुर अस्पताल तीनकुने
काठमाडौं डेन्टल एन्ड जनरल अस्पताल वसुन्धरा
नोबेल अस्पताल सिनामंगल

काठमाडौं उपत्यकाबाहिरका अस्पताल

चितवन मेडिकल कलेज, भरतपुर
धुलिखेल सामुदायिक अस्पताल, धुलिखेल
पुरानो मेडिकल कलेज, भरतपुर
जानकी अस्पताल, जनकपुर
नेसनल मेडिकल कलेज,वीरगन्ज
नेपालगन्ज मेडिकल कलेज,कोहलपुर
लुम्बिनी मेडिकल कलेज, पाल्पा
देवदह मेडिकल कलेज, बुटवल
विराट मेडिकल कलेज, विराटनगर

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि