जेठ ०३, २०८१, बिहीबार
               

कामपाका कुन वडामा कति संक्रमित ?

नेपाल फ्ल्यास
असोज १७, २०७७

ADVERTISEMENT

काठमाडौं महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन्  । जसमध्ये सबैभन्दा बढी  १५ वडामा छन् जहाँ ८७१ सङ्क्रमित भएका छन् ।

त्यसैगरी, वडा ३, ११, १३, १६ मा पनि ५०० बढी सङ्क्रमित रहेको कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए । होम आइसोलेसनमा बस्नेको सङ्ख्या दुई हजार ९९० रहेको छ । 

अस्पतालमा उपचार गराइरहेका ५७२, संस्थागत आइसोलेसनमा ५८३ रहेका छन् । पाँच हजार ५०९ जना निको भएर घर फर्किसकेको कामपाको भनाइ छ । प्रमुख कुँवरका अनुसार सङ्क्रमणको कारण ८० जनाको मृत्यु भएको छ ।

सरकारले भनेअनुरुप पछिल्लो समय भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचक्र्याइँ बढेपछि काठमाडौंं उपत्यका कोरोना भाइरस सङ्क्रमणको केन्द्र बनेको छ । 

उपत्यकासहित देशभर व्यक्ति–व्यक्तिबीच भौतिक दूरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ ।  

सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिकजसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको प्रमुख कुँवरको भनाइ छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिकी सञ्चालन गर्नका लागि बजार खुला गरे पनि नागरिकहरु स्वयं सतर्क रहन आवश्यक रहेको बताउँदै आएको छ  । 

अहिले देशभरिको कूल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना सङ्क्रमणमुक्त भएका छन् ।

हाल देशभर २१ हजार २३४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ११ हजार ७६० होम आइसोलेसनमा छन् । नौ हजार ४७४ संस्थागत आइसोलेसनमा छन् । यसमध्ये २१० आइसियू र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

यो पनि