काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बुधबार बिहानै कालीमाटी तथा बल्खु तरकारी बजारको स्थलगत अनुगमनमा निस्किए ।
प्याजको मूल्यमा कालाबजारी भएको गुनासो सुनिन थालेसँगै मन्त्री भट्ट छड्के अनुगमनमा निस्किएका हुन् ।
सर्वसाधारणले नचिन्ने गरी (तरकारी किन्ने ग्राहक बनेर) उनी बजार पुगेका थिए । मन्त्री भट्टले बल्खुका सात वटा पसलमा प्याजको मूल्यबारे जानकारी लिएका थिए ।
ती पसलहरुमा अघिल्लो दिनसम्म ७५ रुपैयाँ बेचिएको प्याज एक सय १० रुपैयाँमा बिक्री भइरहेको पाइएको मन्त्री भट्टको स्वकीय सचिव हितेश ओझाले बताए ।
‘केही पसलेले भने मन्त्री भट्टसहितको अनुगमन टोलीलाई प्याज नभएको बताएका थिए तर चिनेका मान्छेलाई ती पसलेले महँगो मूल्यमा प्याज बिक्रि गरेको पाइएको ओझाले बताए ।
प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेको पाइएपछि सात वटा पसल सिल गरिएको र आवश्याक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको छ ।
प्याज लुकाउन प्रयोग भएको एउटा पिकअप भ्यानलाई समेत टोलीले नियन्त्रणमा लिएको छ ।
मन्त्री भट्टले यसअघि पनि कालिमाटी तथा बल्खुस्थित तरकारी र फलफूल बजारको अनुगमन गरेका थिए ।