मंसिर ०७, २०८१, शुक्रबार
               

सहजै जित्न सकिन्छ कोरोना, संक्रमित स्वास्थ्यकर्मीको यस्तो छ अनुभव

रासस
भदौ २६, २०७७

ADVERTISEMENT

चितवन । भरतपुर निवासी डा. प्रतीक्षा पौडेल एक वर्षदेखि कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा कार्यरत छिन् । उनी दन्तरोग विशेषज्ञ हुन् । बिरामीको नियमित उपचारमा खटिने क्रममा उनलाई भदौ ४ गते कोरोना संक्रमण पुष्टि भयो ।

कोरोना पोजेटिभ रिपोर्ट आएपछि धेरै नै डराएँ”, उनले भनिन्,“त्यसपछि आत्मबल बलियो बनाएँ । स्वास्थ्यकर्मी भएकाले निको भएर सेवामा फर्किनु छ भन्ने अठोट बुनेँ”, उनलाई कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिएको थिएन । २१ दिनको अस्पतालको बसाइपछि उनी कोरोनामुक्त भइन् । अस्पतालबाट घर फर्किदा उनलाई लिन बुबाआमा अस्पताल परिसर पुगेका थिए । दैनिकजसो मेडिटेसन गर्थेँ, बेसारसहितको तातो पानी पिउथेँ, उनले भनिन्, खानासँगै फलफूल पनि प्रशस्त खानुपर्छ, आत्मबल बलियो बनाउदा सजिलै कोरोनालाई जित्न सकिन्छ ।

एक हप्ता घर बसेपछि बिरामीको उपचारमा फर्किने पौडेलको योजना थियो । देश र जनताको लागि सेवा गरिरहँदा आफू संक्रमित हुन पुगेको भन्दै उनले कोरोनालाई आत्मबल उच्च राखेमा सजिलै जित्न सकिने बताइन् । चितवन जिल्लाका कोरोना संक्रमितमध्ये १५ प्रतिशत स्वास्थ्यकर्मी छन् । स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि यहाँ चुनौती थपिएको थियो । कोरोना संक्रमित स्वास्थ्यकर्मीलाई यहाँ दुव्र्यवहारको प्रयास समेत भएको थियो । उक्त घटनाको चौतर्फी आलोचना भयो । 

डा. पौडेलको बसाइँ होस्टलमा भएकाले उनले नमिठो अनुभव बटुल्न परेन । आइसोलेशनमा बसेका बेला स्वास्थ्यकर्मीलाई अपमान गरेको समाचार सुनेपछि उनलाई एकदमै नराम्रो लाग्यो । कोरोना संक्रमण भएकै बेला उनले सामाजिक सञ्जालमा प्रत्यक्ष आएर यसको विरोधसमेत गरिन् । 

दन्तरोग विशेषज्ञ डा. श्रेया गौतमको पनि कोरोना रिपोर्ट पोजेटिभ आएपछि आइसोशनमा छिन् । बिरामीको उपचारमा खटिएकी थिएँ, उनले भनिन्, 'मलाई सुरुमा सुख्खा खोकी देखा पर्यो । विस्तारै कोरोनाका लक्षण देखिएपछि स्वाब सङ्कलन गरेँ । रिपोर्ट पोजेटिभ आउँदा सारै डर लाग्यो ।'

कोरोना लाग्यो भनेर डराउन नहुने उनको भनाइ छ । यसबाट छुट्कारा पाउन र अरुलाई पनि संक्रमण हुन नदिन भने विषेश सावधानी अपाउनुपर्ने उनी बताउँछिन् । मानव व्यवहार परिवर्तन हुनसके कोरोनालाई परास्त गर्न सकिने उनको तर्क छ । साबुनपानीले हात धुने, मास्क लगाउने र स्यानिटाइजरको प्रयोग गर्नाले धेरै हदसम्म कोरोना संक्रमणबाट बच्न सकिने उनी बताउँछिन् ।

कोरोनालाई आत्मबलले सजिलै परास्त गर्न सकिने भएकाले संक्रमितलाई हेलाको दृष्टिले नहेर्न उनले सबैमा आग्रह गरिन् । घरपरिवार र आफन्तको हौसला र प्रेरणाले आफूले कोरोनालाई सजिलै जितेको उनले सुनाइन् । उनी २० दिनको अस्पताल बसाइँपछि कोरोनामुक्त भएर घर फर्किएकी थिइन् ।

नेपालमा कोरोना संक्रमितको सङ्ख्या वृद्धि भइरहेको बेला क्यान्सर अस्पताल भरतपुरमा सबैभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भए । क्यान्सरको उपचार गर्न देशभरबाट बिरामी आउने भएकाले यहाँको संक्रमण दर उच्च थियो ।

क्यान्सर अस्पतालको आकास्मिक वार्डमा कार्यरत नर्स सविता बस्नेत पनि कोरोना संक्रमणबाट अछुतो रहन सकिनन् । उनी अस्पतालले उपलब्ध गराएको क्वाटरमा परिवारसँगै बस्दै आएकी थिइन् । “तीन वर्षको छोरा र दीर्घरोगी ससुरासँगै हुनुहुन्थ्यो”, उनले भनिन्,“छोरालाई सर्यो कि भन्ने ठूलो डर लाग्यो । अस्पतालको एक वार्डमा आइसोलेनमा बसेँ, १४ दिनपछि फेरि काममा फर्किएँ ।” 

आत्मबल बलियो बनाएर आफू अहिले पनि कोरोना संक्रमितको अग्रपंक्तिमा बसेर काम गरिहेको उनले बताइन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि