मंसिर ०७, २०८१, शुक्रबार
               

निषेधाज्ञाले कोरोना लागेको आशंका गर्नेहरूले परीक्षण गर्न पाएनन्
आइसियू भेन्टिलेटरभन्दा ठूलो सामाजिक दूरी

ADVERTISEMENT

निषेधाज्ञाका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कोरोना भाइरस (कोभिड(१९) परिक्षण गराउन आउनेको चाप घटेको छ । लकडाउनअघि दैनिक हजारौं सख्यामा मानिसहरू जाँचको लागि पुग्ने सो अस्पताल अहिले सुनसान जस्तै छ । निषेधाज्ञाअघि कोरोना भाइरस (कोभिड(१९) संक्रमण भएको आशंकामा परीक्षण गर्न पुग्नेहरूको संख्या बाक्लो थियो ।

गत बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा जारी भएको हो । शुक्रबार निषेधाज्ञाको ९औं दिन हो । अहिले संक्रमणग्रस्त क्षेत्रबाट आएका र कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाहरू अस्पताल पुग्ने बाटो बन्द भएको छ ।

‘निषेधाज्ञाअघि दैनिक हजारदेखि दुई हजार मानिस आउँथे, ट्राभल हिष्ट्री हेहेर, संक्रमितसँगको कन्ट्राक ट्रेस गरेर तीमध्ये केही सयको नमुना संकलन हुन्थ्यो । दिनहुँ टेकु अस्पतालमा पुगेर स्वाब दिएकामध्ये संक्रमणग्रस्त क्षेत्रबाट आएका अधिकांशमा कोरोना पोजेटिभ देखिएको थियो,’ अस्पतालका एक कर्मचारीले भने ‘ तर अहिले दैनिक २५–३० जना मात्र आइरहेका छन् ।

विज्ञहरूका अनुसार आशंकितहरू बेलैमा अस्पताल गएनन् भने संक्रमितले परिवारका अरू सदस्यलाई पनि कोरोना भाइरस सार्ने सम्भावना बढेर जान्छ । पछिल्लो समय काठमाडौं उपत्यकामा ‘फेमेली क्लस्टर’ मा संक्रमण भएका केसहरू बढ्दो मात्रामा देखिएका छन् । चिकित्सकहरूका अनुसार संक्रमणग्रस्त क्षेत्रबाट आएको व्यक्तिबाट परिवारका पुरै सदस्यलाई सरेको केस समेत भेटिएको अवस्था छ ।
समुदायस्तरमा कोरोना फैलन थालेको विज्ञहरू बताउँछन् । लक्षण भएका तथा शंका लागेर परीक्षण गराउन चाहनेहरूलाई निषेधाज्ञाकै कारण अस्पतालसम्म पुग्न रोक्न नहुने विज्ञहरूको तर्क छ । 

‘त्यसैले, निषेधाज्ञाको समयमा सम्भावित संक्रमितको पहिचान र उनीहरूलाई परिवारबाट आइसोलेट गर्न सकिएन भने फेमेली क्लस्टरमा संक्रमण अझ बढेर जान्छ, यसैले निषेधाज्ञामा पनि कोरोना परिक्षण गर्न सहज बनाउनुपर्छ,’ विज्ञहरू भन्छन् ।

अस्पताल भन्छ – अस्पताल खुला छ, शंका लागेहरू आउन सक्नेछन् 

निषेधाज्ञाको समयमा सम्भावित संक्रमितहरूलाई अस्पताल आउन नरोकिएको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा (ईडीसीडी) का निर्देशक डा. बासुदेव पाण्डे बताउँछन् ।  ‘निषेधाज्ञाको समयमा सम्भावित संक्रमितहरूलाई अस्पताल जान नरोकिएको छैन, बरु सडकमा हिँडडुल गर्न तथा सवारी चलाउन नपाउँदा उनीहरू आउन नसकेका देखिन्छन्,’ उनी भन्छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयबाट पनि स्वाब संकलन गर्ने व्यवस्था गर्न लागिएको उनको भनाइ छ । साथै काठमाडौंका ठाउँठाउँमा वडा कार्यालयहरूले पनि स्वाब संकलन गरिरहेको उनले बताए । 

अहिले संक्रमणग्रस्त क्षेत्रबाट उपत्यकामा आएका मानिसहरूको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । पछिल्लो समय स्वास्थ्यकर्मीहरू संक्रमित हुने क्रम बढ्दो छ । यसले अस्पतालहरूको प्रभावमा असर गर्नुका साथै ननकोभिड उपचारका लागि अस्पताल पुगेकाहरू संक्रमित हुन सक्ने खतरा छ । त्यसैले स्वास्थ्यकर्मी र अस्पताललाई कसरी जोगाउने भन्नेतिर ध्यान दिनुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । यो निषेधाज्ञाको समयमा संक्रमणग्रस्त क्षेत्रबाट आएकाहरूको पहिचान गरेर परीक्षण गर्ने, संक्रमण देखिए आइसोलेट गर्नुपर्ने विज्ञहरू बताउँछन् ।

तर, उनीहरू सबैलाई होम आइसोलेसनमा राख्न पनि गाह्रो छ । ‘भौतिक दुरी कायम गर्ने, छुट्टै शौचालय प्रयोग गर्ने अवस्था सबैमा हुँदैन’ विज्ञहरू भन्छन्  ‘होम आइलेसनमा बस्दा छुट्टै कोठा पनि प्रयोग गर्नुभयो, तर शौचलय एउटै प्रयोग गरेकाले परिवारका सबै सदस्य संक्रमित भएका केसहरू पनि छन् । त्यसैले होम आइसोलेसन चुनौतीपूर्ण बन्दै गएको छ ।’

आइसियू र भेन्टिलेटरभन्दा ठूलो सामाजिक दूरी 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम अहिलेको परिस्थति हेर्दा निषेधाज्ञा थप गर्नुपर्ने बताउँछन् । ‘लकडाउन खुलेपछि मानिसहरूले नियम पालना नगर्दा फैलिएको हो, जसका कारण  निषेधाज्ञा गर्नुपरेको हो’ उनी भन्छन् ‘अब घरमा बसेपछि उनीहरूले परिवारका सदस्यहरूलाई सार्न सक्छन्,  ती परिवारका सदस्यलाई सर्‍यो भने लक्षण नदेखिएमा उनीहरूले परीक्षण गराउने छैनन्, यसैले उनीहरू निको हुन केही समय लाग्छ, नत्र निषेधाज्ञा खोल्दा झन् फैलन्छ ।’ उनका अनुसार उमेर भएकाहरू १४ दिनसम्म घरमा बसेर बाहिर आउँदा अरुलाई त सर्ने जोखिम हुँदैन ।

आइसियू भेन्टिलेटरभन्दा दुई मिटरको सामाजिक दूरी र मास्कले संक्रमण घटाउने उनी बताउँछन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि