काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखको बैठक सुरु भएको छ । जारी निषेधाज्ञा सकिनु अघिल्लो दिन मंगलबार काठमाडौं,भक्तपुर ललितपुर जिल्लाका जिल्ला प्रमुखको बैठक बसेको हो ।
प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा निषेधाज्ञाको कार्यान्वय अवस्था समीक्षा गर्ने र भावी रणनितिबारे छलफल हुने बताइएको छ ।
यसअघि तीनवटै जिल्लाका जिल्ला सुरक्षा समितिको बैठकको निर्णयले भदौ ३ देखि १० सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
उपत्यकाका तीनवटै जिल्लाका कोभिड–१९ जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी)को बैठकबाट निषेधाज्ञाको समयसीमा थप गर्नुपर्ने बताउँदै आएका छन् ।
यसका अलवा उपत्यका नगरपालिका फोरमले पनि निषेधाज्ञाको समयाविध बढाउनुपर्ने बताउँदै आएकाले निषेधाज्ञाको समयावधि बढ्न सक्ने आँकलन गरिएको छ ।
काठमाडौं जिल्ला प्रमुखका अनुसार निषेधाज्ञाका कारण उपत्यकामा कोरोना भाइरस संक्रमण चेन ब्रेक भएको छ ।यसका अलवा उनले अब आधारभूत रुपमा संक्रमणको दर घट्ने बताए ।
प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाका महानगरपालिका र नगरपालिकाका प्रमुखसँग पनि यसबारे छलफल गर्ने भएका छन् ।
संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।