जेठ ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा संक्रमण बढ्यो, निषेधाज्ञा थप गर्न आग्रह

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

तस्बिरः रोशन भुजेल
ADVERTISEMENT

काठमाडौं । लकडाउन (बन्दाबन्दी) खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सङ्ख्या अझै बढ्दो क्रममा छ ।

लकडाउन अघिसम्म काठमाडौं उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार मात्र उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या २२४ पुगेको छ । एकै दिनमा उपत्यकामा बढेको यो उच्च सङ्ख्या हो ।

जटिल अवस्थामा पुग्न सक्ने

उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना संक्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ ।

कन्ट्याक्ट ट्रेसिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न सूक्ष्म योजना बनाई तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राविधिक सहयोग र समन्वयमा कार्यान्वयन गर्ने निर्णय फोरमले गरेको छ ।

उपत्यका नगरपालिका फोरमको सोमबार बसेको उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख र उपप्रमुख सहितको बैठकले सो निर्णय गरेको हो ।

निषेधाज्ञा थप गर्न आग्रह

फोरमले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अवधि पुनः थप गर्न आग्रह गरेको छ । 

भारत बाहेकका अन्य मुलुकबाट नेपाल फर्कने नागरिकलाई तीनै तहको समन्वयमा क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापन गर्नुपर्नेमा फोरमले जोड दिएको छ । 

नियन्त्रण गर्न कठिन

नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा घना बस्ती भएकाले कुनै पनि बेला संक्रमण जटिल अवस्थामा पुग्न सक्ने बताए ।

उपत्यकामा कोरोना संक्रमण समुदायमै फैलियो भने नियन्त्रण गर्न धेरै कठिन हुने विज्ञहरुले बताउँदै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि