बैशाख २७, २०८१, बिहीबार
               

काठमाडौं महानगरपालिकाको १४ नम्बर वडा सिल

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं महानगरपालिका–१४ ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन वडालाई सिल गरेको छ । 

वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा संक्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत बन्द गर्न निर्देशन दिएको छ । 

वडा नम्बर १४ अन्तर्गत कलंकी, बल्खु फलफुल तरकारी बजार, मन्दिर, नागर्जुन, चन्द्रागिरी डाडा र खड्का गाउँ आसपासमा वडावासीलाई अनावश्यक रुपमा घरबाहिर ननिस्कन, पाहुन भएर नजान र पाहुनलाई नबोलाउन, घरमै बसेर चाडपर्व मनाउन आग्रह गरिएको छ ।

वडा कार्यालयले हाल सञ्चालन गर्दै आएका दैनिक प्रशासनिक कार्य आगामी भदौ १० गतेपछि अवस्था हेरी पुनःसञ्चालन गर्न सकिने जनाएको छ । 

भीडभाड कम गर्न बैंक तथा वित्तीय क्षेत्रका केही कार्यालयलाई बन्द तथा केही शाखालाई आंशिक सञ्चालन गर्न निर्देशन दिइएको छ ।

अत्यावश्यकीय सेवाभित्र पर्ने वस्तु आपूर्ति गर्न बिहान ५ देखि ९ बजेसम्म सेवाप्रदायक संस्थालाई समय तोकिएको छ । 

स्थानीयवासीको सुरक्षालाई दृष्टिगत गर्दै टोलमा सरसफाइ, औषधि छर्काइ तथा सचेतना अभिवृद्धिका लागि माइकिङ गर्नेलगायत कार्यसमेत भइरहेको छ । 

वडा कार्यालयले स्थानीय उपभोक्ता समिति, विभिन्न क्लब, सामाजिक सङ्घसंस्था, समूहका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई समावेश गरी सम्बन्धित क्षेत्रमा अनुगमन गर्ने तथा अनावश्यक भीड गर्ने र  पसल खोल्ने व्यवसायीलाई कारवाही गरिने व्यवस्था गरेको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिए । 

वडामा अहिलेसम्म ४२ कोरोना संक्रमित फेला परेका छन् । 

कामपा कार्यालयसँग समन्वय गरी वडा कार्यालयले बल्खु, टेकुसीलगायत स्थानमा निःशुल्क पिसिआर परीक्षण गराएको तथा अन्य स्थानमा समेत परीक्षण बढाउन प्रयास गरेको वडाअध्यक्ष सापकोटाले बताए । 

वडा कार्यालयले आफ्ना वडावासीलाई सामन्यावस्थामा घरदेखि बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र  अति नै आवश्यक कार्यमा निस्कँदा दूरी कायम गरी सुरक्षाका उपाय अपनाउन आग्रह समेत गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि