जेठ ०६, २०८१, आइतबार
               

काठमाडौंमा कोरोना संक्रमण भयावह, अस्पताल भरिएपछि संक्रमति घरमै
होम आइसोलेसनले समुदाय नै जोखिममा

ADVERTISEMENT

काठमाडौंको हाँडीगाउँमा डेरा लिई बस्दै गरेका एक प्रहरी जवानको परिवारलाई केही दिनअघि कोरोना सक्रमण देखिएपछि नजिकका आठ दश घरसमेत सिल गरियो । ती घरमा बस्ने सबैको कोरोना परीक्षण (पिसीआर) गरियो । कोरोना सक्रमितसंग सम्पर्कमा पुगेका छरछिमेकीले समेत परीक्षणका लागि स्वाब दिए । 

स्वाब दिएकाहरूलाई भोलिपल्ट फोनबाटै रिर्पाेट सुनाइयो । स्वाब दिएका १८ जनामध्ये १७ जनाको केरोना नेगेटिभ देखिँदा एक युवाको पोजेटिभ नतिजा आयो । टेकु अस्पतालबाट छिमेकी ती युवालाई पोजेटिभ भएको खबर भयो ।  उताबाट भनियो ‘तपाईँलाई कोरोना पोजेटिभ देखिएको छ । अस्पतालमा बस्न ठाउँ छैन, घरमै सुरक्षितसाथ बस्नुहोस् ।’

त्यसपछि २४ घण्टासम्म पनि सरकारी निकायबाट सङ्क्रमित ती युवालाई कुनै समन्वय भएन । उनी घरमै बस्ने कि अस्पताल जाने भन्ने अन्योल भयो । काठमाडौं ५ का वडाध्यक्ष रमेश डङ्गोलसहितका जनप्रतिनिधिले उनी बसेको घर र वरपरकार केही घर र पसल सिल गरेका छन् । 

‘कुनै लक्षण त देखिएको थिएन, तर पनि साथीलाई कोरोना पोजेटिभ देखिएपछि मैले पनि परीक्षण गरेको हुँ, मलाई पनि कोरोना पोजेटिभ देखियो,’ सङ्क्रमित युवा भन्छन् ‘मेरो स्वास्थ्यमा अहिलेसम्म कुनै गडबडी देखिएको छैन, घरमै सावधानी अपनाएर बसेको छु ।’

अस्पतालले नबोलाएपछि उनी घरमै सावधानी अपनाएर बसेका हुन् । ‘अस्पतालले आउनु भनेको छैन । अहिलेसम्म त ठिकै छ, यदि मलाई गाह्रो भयो भने कहाँ जाने ?’, उनले प्रश्न गरे । अहिले घरमा पनि आफू छुट्टै बसेको र कसैलाई नछोएको उनले बताए ।  ‘परिवारको अरूको पनि परीक्षण गरेको छ । रिपोर्ट आउन बाँकी छ । निको नभएसम्म एक्लै बस्छु । कोठा, ट्वाइलेट पनि स्यानिटाइजर गर्ने गरेकी छु’, उनले भने ।

धेरै होम आइसोलेसनमा, थोरै मात्र अस्पतालमा

हाँडीगाउँका ती युवा मात्र होइन काठमाडौंमा सयौँ जना सङ्क्रमित यसै गरी घर, कोठा तथा होटेलमै आइसोलेसनमा बसेका छन् । पछिल्लो समय लक्षण नदेखिएका सङ्क्रमितलाई घरमै राखिएको छ । उपत्यकामा कोरोनाको उपचार हुँदै आएको टेकु अस्पताल, टिचिङ अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल  र शिक्षण अस्पताल भरिएका छन् । 

काठमाडौं उपत्यकामा करिब १६ सय सङ्क्रमित छन् । तीमध्ये जम्मा २ सय ८० जनालाई मात्र अस्पतालमा राखिएका छन् । ललितपुरमा १ सय ९१, काठमाडौंमा १ हजार २ सय  ७८ र भक्तपुरमा १ सय ९ जना कोरोना सङ्क्रमित छन् । सङ्क्रमितको सङ्ख्या बढेपछि सरकारले लक्षण नदेखिएकालाई घरमै राख्न थालेको हो । अस्पतालमा आइसोलेसन बेड, अक्सिजन र भेन्टिलेटरको अभाव हुने भएकाले जटिल सङ्क्रमितलाई मात्र अस्पतालमा राख्न थालिएको हो । 

लक्षण देखिएका वा स्वास्थ्य अवस्थामा समस्या देखिएका संक्रमतिलाई मात्रै अस्पतालमा राखिएको छ । काठमाडौं उपत्यकामा अस्पतालको क्षमताभन्दा धेरै कोरोना सङ्क्रमित भएकाले संक्रमतिलाइ घरमै राख्नुपरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् । उनले भने ‘अस्पतालमा आइसोलेसन बेड, अक्सिजन र भेन्टिलेटरको अभाव देखिने अवस्था छ, जटिल अवस्था भएका बिरामीलाई संक्रमण भएमा अस्पतालमा राख्न बेड नपुग्ने भएकाले सामान्य स्वास्थ्य अवस्था भएका संक्रमतिलाई घरघरमै व्यवस्थापन सुरु भएको हो ।’

होम आइसोलेसनको अवधारणासँगै घर हुनेहरू त घरमा बस्छन् । ‘तर कोठामा बस्ने सङ्क्रमित भएमा कहाँ बस्ने भन्ने ?’ धेरैको जिज्ञासा छ । केही दिनअघि उपत्यका बाहिरबाट भित्रिएका कोटेश्वरका एक जनामा कोरोना पोजेटिभ देखियो । डेरामा बस्ने ती युवालाई स्थानीय तहका प्रतिनिधिले घरमै बस्न आग्रह गरे । कोटेश्वरमा उनी बस्ने टोल सिल गरियो । तर, डेरामा बस्ने भएकाले समस्या भयो । पछि उनलाई होटेलमा लगेर राखियो । ‘कोठामा बस्नेले चाहेमा होटेलमा पनि राख्न सकिन्छ तर केही नभएकालाई सरकारले नै व्यवस्था गर्नुपर्छ’ सरोकारवाला भन्छन् ।

कुन अस्पतालमा कति आइसोलेसन बेड

उपत्यकामा कोरोनाको उपचार हुँदै आएको टेकु अस्पताल, टिचिङ अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल  र शिक्षण अस्पताल भरिएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा शुक्रबार बिहानसम्म ४६ जना कोरोना सङ्क्रमित छन् । जहाँ ५० जना सङ्क्रमितका लागि बेड छ । २० वटा अक्सिजन र भेन्टिलेटरसहितको बेड छ । अब ४ जना बाहेक अरूलाई त्यहाँ ठाउँ छैन ।
ललितपुरको पाटन अस्पतालमा शुक्रबार बिहानसम्म ७६ जना सङ्क्रमित उपचाररत  छन् । पाटनको क्षमता ६० जनाको हो । २१ वटा आइसियु पनि छन् । त्यहाँ क्षमताभन्दा बढी सङ्क्रमित राखिरहेको छ । 

उता नेपालको पुरानो सरकारी अस्पताल वीर अस्पतालमा शुक्रबार बिहानसम्म सबैभन्दा कम कोरोना सङ्क्रमित रहेका छन् । जहाँ ४ जना सङ्क्रमित राखिएको  छ। अहिले वीरमा आइसोलेसन बेड ४ वटा मात्रै छन् । १० वटा बेड थप्ने तयारी छ ।

शिक्षण अस्पताल महाराजगंञ्जमा शुक्रबार बिहानसम्म २६ जना सङ्क्रमित छन् । कोरोनाका लगि २१ जनाको मात्र उपचार गर्न सक्ने क्षमता टिचिङसँग छ । बेड क्षमताभन्दा ५ जना  सङ्क्रमित त्यहाँ राखिएका छन् ।

उता सशस्त्र प्रहरीको कोभिड अस्पतालमा शुक्रबार बिहानसम्म १ सय २७ जना सङ्क्रमित छन् । १ सय २० जनाको क्षमता रहेको अस्पतालमा ७ जना बढी सङ्क्रमित राखिएको छ । 

 

सङ्क्रमित राख्ने ठाउँ खोजी गर्दै सरकार

सरकार कोरोना सङ्क्रमितलाई राख्ने ठाउँ खोजिरहेको छ । सङ्क्रमितलाई कीर्तिपुर, मनमोहन मेडिकल कलेज र परिपाटीको आइसोलेसन सेन्टरमा राख्ने तयारी सरकारको छ । 

अन्य सरकारी र प्राइभेट अस्पताललाई पनि प्रयोगमा ल्याउनुपर्नेमा उनले जोड दिए । ‘अरू केही ठाउँको खोजी भइरहेको छ, सरकारी, प्राइभेट सबै अस्पताललाई प्रयोगमा ल्याउनुपर्छ, यो सङ्कटको समयमा निजी अस्पतालले पनि सहयोग गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतम भन्छन् ।

होम आइसोलेसनले समुदाय जोखिममा

सङ्क्रमित घरमा बस्दा मापदण्ड पालना नगरे समुदायमा फैलने जोखिम उच्च हुने विज्ञहरू बताउँछन् । ‘पहिले पनि होम क्वारेनटाइन भनेर घरमै राखियो ।

स्थानीय तह तथा प्रशासनबाट भरपर्दो अनुगमन भएन । तर, क्वारेनटाइनमा बस्नुपर्ने मान्छे बाहिर घुमेर हिँडे । अनि संक्रमण फैलियो,’ विज्ञहरू भन्छन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि