जेठ ०७, २०८१, सोमबार
               

कोरोना संक्रमित थप ९ जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । 

हिजो (मंगलबार)  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको जानकारी दिएका थिए । 

यसैबीच गएरातिदेखि आज बिहानसम्म थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसबारेमा स्वास्थ्य मन्त्रालयले आजको प्रेस ब्रिफिङमा (औपचारिक रुपमा) जानकारी दिनेछ ।

पूर्व मेयरको मृत्यु

तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख (मेयर) कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  जनकपुरधाम स्थित होटेल रामाका संचालकसमेत रहेका पूर्व मेयर गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

उपचारका क्रममा मंगलबार मध्यराति उनको मृत्यु भएको हो । २० दिनदेखि अस्पतालमा रहेका ७२ वर्षीय गिरी मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित रहेको बताइएको छ । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । 

उनको स्वास्थ्यमा थप समस्या देखिएपछि केही दिनअघि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । जनकपुरमा रहँदा रोगले च्यापेपछि हेलिकप्टर चार्टर गरेर उनलाई काठमाण्डौं ल्याइएको थियो । 

किस्टमा दुई जनाको मृत्यु

ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजस्थित आइसीयूमा उपचाररत काठमाडौं टेकुकी ७८ वर्षीया  महिलाको मृत्यु भएको छ । 

मंगलबार राति सवा १ बजे महिलाको मृत्यु भएको हो । बुधबार बिहान उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो । 

किस्ट अस्पतालमा उपचाररत बारा जिल्ला कलैयाका ७७ वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

बुधबार बिहान ४ बजे उनको मृत्यु भएको हो । उनको कोरोना रिपोर्ट भने दिउँसो आएको थियो । उनी दम तथा मुटु रोगी थिए । साउन २६ गते राति उनलाई त्रिवि शिक्षण अस्पतालले किस्टमा रिफर गरेको थियो ।  

पाटनमा एकको मृत्यु

ललितपुरस्थित पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षिया महिलाको मृत्यु भएको छ । आइसीयूमा उपचाररत महिलाको गएराति १ बजे मृत्यु भएको हो ।

महिलामा मेनेन्जाइटिसको समस्या देखिएपछि यही साउन १८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

ह्याम्समा एकको मृत्यु

काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृतक धादिङको नीलकण्ठ नगरपालिका–१४ का वासिन्दा हुन् ।

मृत्युपश्चात् उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी धादिङबेसी–काठमाडौं रुटमा गाडी चलाउने चालक रहेको र लकडाउनपश्चात् सवारीसाधन नचलेपछि गाउँमा नै बस्दै आएका थिए । 

एम्बुलेन्समै मृत्यु

सप्तरी डाक्नेश्वरी नगरपालिका–८ घर भई हाल राजविराज ६ सिरहा रोडमा बस्दै आएका ८० वर्षीय बृद्वको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

एम्बुलेन्समा राखेर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो । मृतक बृद्धलाई चार दिनअघि ज्वरो आएको र स्वाब परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स मगाइएको थियो । एम्बुलेन्समा राखेर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो । 

उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत रोगी थिए । 

बुटवलमा दुईको मृत्यु

बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा भर्ना भएका दुई जनाको मृत्यु भएको छ । आइसोलेसनमा भर्ना भएका कपिलवस्तु नगरपालिका– २ तौलिहवाका ४२ वर्षीय पुरुष र कपिलवस्तुकै कृष्णनगरका निवासी २५ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । 

४२ वर्षीय पुरुष गत साउन २५ गते र २५ वर्षीय पुरुष गत साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भए पनि २५ वर्षीय पुरुषको रिपोर्ट आउन बाँकी छ ।

मोरङमा एकको मृत्यु

मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका बासिन्दा हुन् । 

श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका पुरुषलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि