नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२:०० बजेदेखि मङ्गलबार राति १२:०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ ।
सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा उक्त क्षेत्र सिल गरेको जानकारी दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयले सिल गरेको उक्त क्षेत्रमा भने नेपाली सेनाले निगरानी गर्नेछ । नेपाली सेनाको टोलीले सिल गरिएको उक्त क्षेत्रमा २४ घण्टा उच्च निगरानी बढाएको छ ।
सिल गरिएको क्षेत्रको अनुगमनमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख बिहानदेखि नै सडकमा स्वयं खटिएका छन् ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेपालगञ्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकदेखि चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाउँ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्लाभित्रको क्षेत्र पूर्णरुपमा सिल गरिएको छ ।
भेरी अस्पतालको प्रसूति वार्ड बन्द
नेपालगञ्जमा कोरोना संक्रमण बढ्दै गएपछि भेरी अस्पतालको प्रसूति वार्ड सिल गरिएको छ । गर्भवतीमा कोरोना पुष्टि भएपछि प्रसूति वार्ड सिल गरिएको हो ।
भेरी अस्पतालमा रुकुम (पश्चिम) चौरजहारी निवासी महिलालाई बुधवार भेरी अस्पतालमा डेलिभरीका लागि भर्ना गरिएको थियो । गर्भवतीको महिना पुगिसकेकाले बिहीवार शल्यक्रिया गर्ने तयारी गरिएको थियो ।
शल्यक्रियाका बेला महिलालाई एक्कासि ज्वरो आएपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि प्रसूति वार्ड सिल गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए ।
गर्भवतीमा कोरोना देखिएपछि यतिबेला भेरी अस्पतालको प्रसूति वार्ड सिल गरेर बिरामीलाई कोहलपुर मेडिकल कलेज पठाउने तयारी गरिएको र आवतजावत बन्द गरिएको उनले बताए ।
सांसदलाई कोरोना
यसैबीच, प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की केसीले आफ्नो फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको उल्लेख गरेकी छन् ।
फेसबुकमा लेखेकी छन् ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्ता यता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पिसीआर जाँच गराउन अनुरोध गर्छु ।’
उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पिसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसीआर परीक्षणमा शनिबार बाँकेका ७ महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए ।
सांसद केसीले कोरोना महामारीकै बीच आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा विभिन्न कार्यक्रममा सहभागी भएको बताएकी छिन् ।
रुघाखोकी लाग्न थालेपछि उनी कोरोनाको आशंकामा परीक्षण गराउन अस्पताल पुगेकी थिइन् । उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ ।