जेठ ०७, २०८१, सोमबार
               

'सटडाउन'पछि उपत्यकामा चहलपहल कम
सेवा प्रवाहमा कटौती

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकामा चहलपहल कम भएको छ । तिनै जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना नियन्त्रणको लागि कठोर कदम चाल्ने निर्णय गरेसँगै चहलपहल कम भएको हो । कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकामा सिडिओ कार्यालयहरु १५ दिनको लागि सटडाउन गरिएको छ ।

यसैबीच, उपत्यकामा अघिल्लो दिनको तुलनामा भिडभाड कम देखिएको छ । सटडाउनमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिने छ । शनिवार सार्वजनिक बिदा भएकाले चहलपहल कम हुने नै गर्छ । तर पनि आज विगतको भन्दा झनै कम चहलपहल देखिएकाे छ । यसअघि लकडाउन खुले लगत्तै सपिङ मल, मुख्य बजार क्षेत्रमा शनिवार भिडभाड हुने गरेका थिए ।

निजी तथा सरकारी, सार्वजनिक सेवामा कार्यरत पदाधिकारी र कर्मचारीबाहेक ट्राभल हिस्ट्री नदेखिएकाहरूमा पनि कोरोना संक्रमण देखिन थलेपछि उच्च जोखिममा परेका स्थान सिल गरिएका छन् ।  साथै विभिन्न जिल्लामा सरकारी कार्यालयबाट दिइने सेवा पनि कटौती गरिएको छ । सरकारले विभिन्न जिल्ला र क्षेत्रमा निषेधाज्ञासँगै अत्यावश्यकबाहेकका सार्वजनिक सेवा प्रवाहमा पनि कटौती गर्दै छ । जुन आइतबारबाट लागु हुनेछ । 

निषेधाज्ञा जारी भएका स्थानमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा प्रवाह अर्को आदेश नभएसम्मका लागि कटौती गरिन लागिएको हो । शुक्रवार नै उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले अत्यावश्यकबाहेकका सबै सेवा साउन २५ देखि भदौ ८ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । 

काठमाडौँका मुख्य व्यापारिक क्षेत्रहरू असन र न्युरोड क्षेत्रमा व्यवसाय गरिरहेका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । त्यस क्षेत्रलाई सिल गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड, असन र टेकु आसपासका व्यक्तिमा संक्रमण कोरोना संक्रमण फैलिन थालेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले न्युरोड क्षेत्र सिल गर्नेबारे भने औपचारिक पत्र आएपछि निर्णय लिने बताए ।

तराईका जिल्लामा पनि जोखिम

उपत्यकाकासहित सप्तरी, बाँके, बारा, पर्सा, सुनसरी, सर्लाही, स्याङ्जा र बर्दियाका सबै क्षेत्र निषेधित घोषणा गरिएको छ । दैनिक उपभोग्य वस्तु किनमेलमा केही लचकता अपनाइएको छ । केही जिल्लाका स्थानीय तहले स्थानीय प्रशासनको अनुमतिमा जोखिममा परेका आ–आफ्ना क्षेत्र अनिश्चित कालका लागि सिल गरेका छन् । समुदाय स्तरमा कोरोना देखिए तत्काल एरिया सिल गरेर आवतजावतमा रोक लगाउन गृहले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले संक्रमण फैलिन नदिन जोखिमयुक्त क्षेत्र पहिचान गरी जिल्ला, स्थानीय तह, टोल र संक्रमित बसेको घर वरपर सिल र निषेधाज्ञा जारी गरेर आवतजावत नियन्त्रण गरिएको बताए । उनले भने, ‘जोखिमको स्थिति हेरेर निषेधाज्ञा गर्ने जिल्ला थपिन सक्छन् ।’ स्थानीय तह र जिल्लागत निर्णयबाट पनि परिस्थिति नियन्त्रणमा नआए गृह र सीसीएमसीबाट प्रतिकार्य योजना लागू गरिनेछ ।’

आइसोलेसन क्षमता बढाउन सुझाव

उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीले पूर्वाधार भएका ठूला क्वारेन्टाइनलाई ‘आइसोलेसन केन्द्र’ बनाउन अस्पतालहरूलाई सुझाव दिएका छन् । प्रमुख जिल्ला अधिकारीहरू जनकराज दाहाल, हुमकला पाण्डे र नारायणप्रसाद भट्टले संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै राष्ट्रियस्तरका क्वारेन्टाइनलाई पूर्वाधार थप गरेर आइसोलेसन वार्डको सङ्ख्या बढाउन सुझाव दिएका हुन् ।

यसका लागि प्रजिअहरूले गृह मन्त्रालयमार्फत उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सीसीएमसीलाई पत्र पठाएका छन् । प्रजिअहरूको बैठकले कीर्तिपुर र सामाखुसीस्थित राधास्वामी सत्संग भवनका करिब ३ सय बेड क्षमता, इचंगुनारायणमा करिब ४ सय र मनमोहन मेडिकल कलेज दहचोकमा करिब ३ सय क्षमतामा ठूला क्वारेन्टाइनलाई आइसोलेसन बनाउन सकिने सुझाव दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि