बैशाख १८, २०८१, मंगलबार
               

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन अन्योलमा

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

बागलुङ । कोरोनाबाट मृत्युवरण गर्ने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन । शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटकपटक पत्राचार गरेको छ ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त समितिले यथाशीघ्र शव व्यवस्थापन स्थलको खोजी गरी समितिलाई जानकारी गराउन सोमबार पुनः आग्रह गरेको छ । यसअघि गत जेठ २८ र यही असार ५ गते पनि समितिले सोही अनुरोधसहित पत्र पठाएको थियो ।

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले ल्याएको कार्यविधिमा स्थान खोज्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । कार्यविधिमा संस्कारअनुसार शव जलाउने या गाड्ने हो सोहीअनुसार छुट्टाछुट्टै ठाउँ तोक्नुपर्ने उल्लेख छ ।

प्रजिअ एवं जिल्लास्तरीय समितिका संयोजक गौलोचन सैँजूले स्थानीय तह र वडास्तरमा समेत शव व्यवस्थापन समिति गठन गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको बताए । ‘स्थानीय तहमा शव व्यवस्थापन स्थलको खोजी र छनोट गर्ने कार्य भइरहेको छ’, उनले भने, ‘छिट्टै टुङ्गो लाग्छ ।’

कतिपय ठाउँमा शव व्यवस्थापनलाई लिएर विवाद भइरहेकाले उपयुक्त र सबैलाई मान्य हुने स्थान छान्नुपर्ने अवस्था छ । बागलुङ नगरपालिकामा शव व्यवस्थापनका लागि सम्भावित क्षेत्रको अध्ययन र छनोटका लागि कार्यदल बनाइएको छ ।

सो कार्यदलले उपयुक्त स्थान पहिचान गरी तीन दिनभित्र जिल्लास्तरीय समितिलाई सिफारिस गर्ने जनाइएको छ । बागलुङ नगरपालिका–१ काठेखोला किनार, ४ को चाँदवारीस्थित कालिगण्डकी किनार र १३ को कालाखोला किनारलाई सम्भावित क्षेत्रका रूपमा हेरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि