कात्तिक ३०, २०८१, शुक्रबार
               

दुई वर्षपछि बल्ल पत्रकारको मृत्यु भएको स्पष्ट

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

डोटी । डोटीका स्थानीयवासी तथा पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्षपछि मृत्यु भएको स्पष्ट भएको छ । दुई वर्षअघि बाजुराको बुढीनन्दा मेलाबाट एकाएक बेपत्ता भएका नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्षसमेत रहेका पत्रकार खड्काको मृत्युको स्पष्ट  भएको खबर मङ्गलबार आएको हो । 

पत्रकार खड्का बेपत्ता भएपछि नेपाल पत्रकार महासंघ केन्द्रीय टोली सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा गएको २०७६ साल मङ्सिरमा बाजुराको बुढिनन्दामा मानव कङ्काल भेटिएको थियो । उक्त मानव कङ्काल नेपाल प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षणका लागि पठाइएको थियो । प्रयोगशालामा गरिएको परीक्षणपछि सो कङ्काल पत्रकार तेजबहादुरकै रहेको पुष्टि भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टङ्कप्रसाद भट्टराईले बताए ।

उनले भने, ‘खोजबिन टोलीले पाएको मानव कङ्काल डिएनए परीक्षणको लागि हाम्रो विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो, परीक्षणपछि रिपोर्ट हेर्दा खड्काकै कङ्काल भएको पुष्टि भएको छ ।’ बेपत्ता भएका पधकार खड्काको खोजी गर्ने क्रममा वेपत्ता भएको एक वर्षपछि २०७६ साल मङ्सिरमा दुई वटा करङ, झोला र परिचयपत्र भेटिएको थियो ।

पत्रकार खड्का दिपायल सिलगढी नगरपालिका–१ तिखा घर भई रेडियो बुढीनन्दा बाजुरामा बजार व्यवस्थापकको रूपमा काम गर्दै आएका थिए । उनी रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायल हुँदै रेडियो नेपालकै केन्द्रिय प्रसारण केन्द्रमासमेत लामो समय कार्यरत रहेका थिए । उनी २०७५ साल भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा वरमाग्ने भन्ने डाँडाबाट एकाएक बेपत्ता भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि