बैशाख २६, २०८१, बुधबार
               

आजदेखि मनसुन सक्रिय, कहाँ-कहाँ हुन्छ भारी वर्षा ?

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

आज (सोमबार) देखि फेरि मौसम सक्रिय हुने भएको छ । आज बेलुकादेखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुख्यगरी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा वाग्मती प्रदेशका केही ठाउँ, प्रदेश १ र २ का थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । 

मंगलबारदेखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ का मध्य पहाडी भूभाग भई बग्ने नदीमा जलसतह बढ्ने सम्भावना छ । ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

प्रदेश १, वाग्मती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने भोटेकोशी, वाग्मती, नदीमा समेत बहाव सामान्य बढ्ने तथा ती प्रदेशका मध्य पहाडी भूभाग भई बग्ने अधिकांश साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बहावसमेत आउन सक्ने पूर्वानुमान  छ ।  

त्यस्तै प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशको चुरे भई बग्ने केही मझौला तथा साना  खोला नालामा समेत बहाव बढ्ने र कुनै ठाउँमा आकस्मिक बहाव आउने, तराई र चुरे क्षेत्रका होचा क्षेत्र डुबानमा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

बाढी पहिरोको जोखिम रहेकोले सुरक्षित रहन र जोखिम क्षेत्रमा नबस्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । 

यसअघि उच्च तयारी हुँदाहुँदै पनि पहिरोका कारण क्षति भएको छ । यस वर्ष पहिरोका कारण सबैभन्दा बढी १ सय २८ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परी ५१ जना बेपत्ता रहेको सरकारको तथ्याङ्क छ ।


कस्तो लाग्यो ?

यो पनि