काठमाडौं : कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको आरोप लगाउँदै पाटनमा सत्याग्रहमा बसेकी सुभानी सिँजापतिलाई अस्पताल लगिएको छ ।
शनिबारदेखि अनशनमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको इनफ इज इनफले जनाएको छ ।
सोमबार मात्रै सत्याग्रहमै बसिरहेका सुदन गरुङलाई समेत अस्पताल लगिएको थियो । उनलाई टिचिङ अस्पताल लगिएको थियो ।
गत शुक्रबारबाट अभियन्तासहित ५ जना पाटन दरबार क्षेत्रमा रहेको मणि मण्डपमा सत्याग्रहमा बसेका थिए ।
सामाजिक सञ्जालमा ‘इनफ इज इनफ’ नाममा सक्रिय युवाहरुको समूहले सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै विरोध गर्दै आइरहेका छन् । उनीहरुले कोरोना परीक्षणमा पिसिआर लागू गर्न, आरडिटी बन्द गर्न र क्वारेन्टाइनको व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेका छन् ।