जेठ ०६, २०८१, आइतबार
               

कोरोना फैलन नदिन आवतजावतमा कडाइ

रासस
असार १५, २०७७

ADVERTISEMENT

बागलुङ । क्वारेन्टाइनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना सरेपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ ।

१२ बजेदेखि आउँदो २० गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन, वित्तीय संस्था, पसल, होटेल, खाजा घर खोल्न नपाइने भएको छ । एम्बुलेन्स, दूधको गाडी, ट्याक्टर, टिपर, सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीले प्रयोग गर्ने सवारी साधन भने चल्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका र वडा कार्यालयमा पनि अत्यावश्यक बाहेकका सेवालाई बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए । अनुमति लिएर मध्यपहाडी लोकमार्गमा गुड्ने सवारीसाधनले पनि गाउँपालिकाभित्र यात्रु चढाउन, ओराल्न र बीचमा रोक्न नपाउने उनको भनाइ छ ।

क्वारेन्टाइनबाहिर रहेका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायमा फैलन नदिन गाउँपालिकाले उच्च सतर्कता अपनाएको हो । गाउँपालिकाको आकस्मिक बैठकले क्वारेन्टाइन व्यवस्थापनका लागि वडास्तरमा समिति पनि गठन गरेको छ ।

क्वारेन्टाइनको सुरक्षा  र व्यवस्थापकीय काममा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाले हिजो जारी गरेको विज्ञप्तिमा थप सजगता र कोरोना नियन्त्रणका लागि आवतजावतमा कडाइ गर्नुपरेको उल्लेख छ ।

गाउँपालिकाले कोरोना रोकथाम अभियानमा आम जनसाधारणसहित सम्बद्ध सबै पक्षको सहयोगको अपेक्षा गरेको छ । शनिबार साँझ वडा ५ स्थित अमर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा खटिएका  एक सुरक्षाकर्मीसहित खाना पुप्याउने महिला र उनका सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यी तीनसहित काठेखोलामा हालसम्म २६ जनामा कोरोना देखिएको छ । तत्काल  ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कोरोना जाँच गरिने स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए। उनका अनुसार जिल्लामा विदेशबाट आएका बाहेकमा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको हो । 

यसअघि गत चैतमा बेल्जियमबाट आई घरमै बसेका बेला बागलुङ नगरपालिकाका दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता भेटिएका सबै सङ्क्रमित भारतबाट आई क्वारेन्टाइनमा  बसेका व्यक्ति हुन् । जिल्लामा हालसम्म १७९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । निको हुनेको सङ्ख्या २४ छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि