जेठ ०६, २०८१, आइतबार
               

भारतीय नागरिकले दाङबाट वंशजको नागरिकता लिएको अभियोगमा मुद्दा

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

दाङ । वंशज र नागरिकता सम्बन्धित गलत विवरण पेस गरेर दाङमा एकजना भारतीय नागरिकले जिल्ला प्रशासन कार्यालय दाङबाट वंशजको नागरिकता प्राप्त गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ । नागरिकता लिएको डेढ वर्षपछि रहस्य खुलेको हो ।

नेपाली नागरिकता लिने भारतको उत्तरप्रदेश बलरामपुर जिल्ला श्रीदत्तगञ्ज उत्रौला घर भएका २५ वर्षीय विशाल गुप्ता पटवाल अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

०७७ जेठ १३ गते उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको थियो । असार ८ गते गुप्तालाई जिल्ला अदालतले पुर्पक्षको लागि कारागार चलान गर्न आदेश गरेको थियो ।

भारतीय नागरिक गुप्ताले मितबहादुर दमाईंको नामबाट ०७५ मंसिर २५ गते ५२–०१–०७५–०४०५२ वंशजको नागरिकता प्राप्त गरेका थिए ।

उनले घोराही उपमहानगरपालिक–३ वर्गदा निवासी हिरालाल दमाईंको छोरा बनेर नागरिकता लिएको पाइएको छ ।

गुप्ताबाट भारतीय विशिष्ट पहचान प्राधिकरणले जारी गरेको कार्डसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए ।

दमाइका जेठा छोरा हिरालाल भारतमा काम गर्न गएका छन् । तर, हिरालालले गुप्तालाई आफ्नो छोरा बनाएर नागरिकता दिलाएका थिए । प्रहरीले हिरालाल दमाईंसहित घोराही उपमहानगरपालिका–३ का वडाअध्यक्ष माधव चौधरी, वडासचिव पद्मप्रसाद रेग्मी, कर्मचारी त्रिपुरा खड्का र सामाजिक परिचालक लिला अधिकारीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

नागरिकता लिने विशाल गुप्ताबाहेक अन्य पाँचै जना फरारको सूचीमा छन् । आरोपित विशालले आफू भारतीय नागरिक भएको र गलत विवरण पेस गरेर नागरिकता लिएको प्रहरीसमक्ष बयान दिएका छन् ।

घोराही उपमहानगरपालिका–३ को सिफारिसको आधारमा उनले नागरिकता प्राप्त गरेका थिए । बंगलाचुली गाउँपालिका–३ बाट बसाइँसराइको विवरण पेस गरेर सिफारिस बनाएका थिए ।

घोराहीमा मजदुरी गर्दै आएका विशालले चार वर्षअघि सम्झना नेपालीसँग विवाह गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि