जेठ ०५, २०८१, शनिबार
               

क्वारेन्टाइनमै अन्तरजातीय विवाह, भोलिपल्ट आयो रिपोर्ट

नेपाल फ्ल्यास
असार ०२, २०७७

ADVERTISEMENT

घोराही । दाङमा एक जोडीले क्वारेन्टाइनमै विवाह गरेका छन् । 

घोराही उपमहानगरपालिका वडा नम्बर–१८ मा रहेको बेलघारी क्वारेन्टाइनमा बसेका जोडीले अन्तरजातीय विवाह गरेका हुन् ।

वडाध्यक्ष भरत अर्यालको रोहबरमा घोराही उपमहानगरपालिका–१८ का समिर वली र तुलसीपुर उपमहानगरपालिका–५ की सीता चौधरीबीच (क्वारेन्टाइनमै) विवाह भएको हो ।

भारतको दिल्लीबाट फर्किएर क्वारेन्टाइनमा बसेका उनीहरु प्रेम सम्बन्धमा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरिदिएको वडाध्यक्ष अर्यालले जानकारी दिए ।

घर सल्लाहमा जेठ ३२ गते बर-पिपल साक्षी राखी आफूले सामान्य मन्त्रोच्चारण गरेर विवाह गराइदिएको वडाध्यक्ष अर्यालले बताए ।

उनीहरुको धर्म–संस्कारअनुसार ९ महिनामा विवाह गर्न नमिल्ने भएपछि जेठ ३२ गते नै सामान्य ढंगले विवाह गरिएको हो ।

उनीहरु जेठको पहिलो साता भारतबाट फर्किएका थिए । करिब २४ दिन क्वारेन्टाइनमा अलग्लै बसेका उनीहरुको परीक्षण रिपोर्ट हिजो (सोमबार) आएको छ । परीक्षणमा दुबैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।

क्वारेन्टाइनमा उनीहरुसँगै बसेका अन्य चार जनाको भने रिपोर्ट पोजिटिभ आएको छ ।

नवविवाहित जोडीको रिपोर्ट नेगेटिभ आएसँगै एक सातासम्म घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने गरी क्वारेन्टाइनबाट बिदाई गरिएको वडाध्यक्ष अर्यालले बताए ।


कस्तो लाग्यो ?

यो पनि