जेठ ०७, २०८१, सोमबार
               

आज भारी वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम

रासस
जेठ ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । मनसुनी वायुको प्रभावले आइतबार देशको केही स्थानमा भारी वर्षा हुने भएको छ ।

शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन देशभर फैलिन एक साता लाग्ने मौसमविद् समिर श्रेष्ठले बताए । नेपालमा मनसुन भित्रिएसँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

हाल देशको प्रदेश १ र सुदूरपश्चिम प्रदेशको तराईका भूभाग तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै प्रदेश १ र २ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सोमबार देशभर पूर्ण बदली रही प्रदेश १,२, वाग्मती, गण्डकी र प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

मङ्गलबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रही प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम ३० दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव छ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि