खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टाइनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टाइनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधबारदेखि क्वारेन्टाइनमा राखेका हुन् ।
मङ्गलबार दिउँसैदेखि मादक पदार्थ सेवन गरेका वडाध्यक्ष पुरीले झापाबाट आएर वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा बसेका एक युवकको मोबाइलसमेत खोसेको स्थानीय बासिन्दाको आरोप छ ।
‘दैनिक मादक पदार्थ सेवन गरेर बस्नुहुने वडाध्यक्ष पुरीले मातेको झोँकमा गए राति क्वारेन्टाइनमा बसेकालाई हप्काउनुका साथै एक युवकको मोबाइलसमेत खोसेर लानुभएको छ’, एक स्थानीय बासिन्दाले भने, ‘क्वारेन्टाइनमा बसेकाहरुसँगको सम्पर्कमा जानुभएका वडाध्यक्ष पुरीबाट कोरोना भाइरसको संक्रमण सर्ने खतरा भएकाले उहाँलाई नै क्वारेन्टाइनमा राखिएको हो ।’
वडाध्यक्ष पुरीले गएराति क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत हप्कीदप्की गरेको प्रत्यक्षदर्शीले बताएका छन् । अधिकांश समय मादक पदार्थ सेवन गरेर बस्ने वडाध्यक्ष पुरीले कार्यालयमा खटिएका कर्मचारीलाई आफ्नै घरमा आएर हाजिर गर्न लगाउने गरेको एक कर्मचारीले बताएका छन् ।
वडाध्यक्ष पुरीलाई बुधबारबाट १४ दिनसम्म क्वारेन्टाइनमा राखिने नगरप्रमुख इवन राईले बताए । ‘हामीले लागू गरेको नियम सबैलाई लागू हुन्छ’, उनले भने, ‘वडाध्यक्ष पुरीले नियम उलंघन गर्नुभएकाले उहाँलाई नगरपालिकाकै तर्फबाट १४ दिनसम्म क्वारेन्टिनमा राखिएको हो ।’
एघार वडा कार्यालय रहेको नगरपालिकाको विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टाइनमा अहिले ९ जना रहेको नगरपालिकाको स्वास्थ्य सहसंयोजक प्रकाश घिमिरेले जानकारी दिए । क्वारेन्टाइनमा बस्ने व्यक्तिको स्वास्थ्योपचार तथा खानाको व्यवस्था नगरपालिकाले गर्ने गरेको जनाइएको छ ।
एक सङ्क्रमित युवक भेटिएको उक्त नगरपालिकामा ११४ स्थानीय बासिन्दाको स्वाब संकलन गरेर पिसीआर परीक्षण गरिएको जनाइएको छ । काठमाडौंबाट उद्धार गरेर ल्याइएका २० वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनको परिवार तथा उनीसँगै बसमा यात्रा गरेर आएकाहरुको स्वाब संकलन गरेर पिसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
संक्रमित युवकको विराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको नगरपालिकाले जनाएको छ । उपचाररत युवकको अवस्था अहिलेसम्म सामान्य रहेको नगरस्वास्थ्य सहसंयोजक घिमिरेले जानकारी दिए । दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिकाका एक युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि अन्य स्थानीय तहमा समेत उच्च सतर्कता अपनाइएको छ । जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रको प्रवेश नाका पूर्णरुपमा बन्द गरेको छ भने परीक्षणलाई तीव्रता दिएका छन् ।
जिल्लाका चार स्थानीय तहका १७ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । ऐसेलुखर्क गाउँपालिकामा आठ, जन्तेढुङ्गा गाउँपालिकामा पाँच, दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकामा दुई–दुई गरी १७ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।
आरडीटी रिपोर्ट पोजेटिभ देखिएका १७ सहित ३९ जनाको स्वाब संकलन गरेर परीक्षणमा विराटनगर तथा काठमाडौं पठाइएको पिसीआर रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए । जिल्लामा हालसम्म ९५१ जनाको आरडिटी र २४८ जनाको पीसीआर परीक्षण गरिएको मेडिकल अधिकृत डा. श्रेष्ठले जानकारी दिए ।