मंसिर ०७, २०८१, शुक्रबार
               

२५ जना काेराेना संक्रमित भीम अस्पतालबाट डिस्चार्ज

रासस
जेठ १९, २०७७

ADVERTISEMENT

रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५  कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गैँडहवा गाउँपालिकाका १०, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका ५/५, सिद्धार्थनगर नगरपालिकाका १, नवलपरासीका ३ जना र भारतका १ जना अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा नवीन दर्नालले जानकारी दिए।
प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीलाई फूल र खादा ओढाएर बिदाइ गरे ।  मन्त्री बरालले कोरोना लाग्दैमा आत्तिनु नपर्ने  तर सतर्कता भने अपनाउनुपर्ने बताए । उनले संक्रमितलाई हेयको दृष्टिले नहेर्न पनि आग्रह गरे । डिस्चार्ज भएका बिरामी खुशी हुँदै नाचेर बिदा भएका थिए ।  

यसअघि आइतबार बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत चार संक्रमित  डिस्चार्ज भएका छन् । पछिल्लो पटक गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।

संक्रमितमध्ये कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई र बुद्धभूमि नगरपालिकाका एक युवक गत वैशाख ३० गते अस्पताल भर्ना भएका थिए । उनीहरू भारतबाट आएको जनाइएको छ । यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका युवकलाई वैशाख २९ मा अस्पताल ल्याइएको थियो । उनी पनि मुम्बईबाट आएका थिए ।  

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि