असोज ०६, २०८१, आइतबार
               

खुशी हुँदै फर्किइन् कोरोनामुक्त आमा

रासस
बैशाख ३१, २०७७

ADVERTISEMENT

चितवन । चार साताको अस्पताल बसाइपछि कोरोनामुक्त भएर घर फर्कँदै गर्दा ६३ वर्षीया आमाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी छन् । 

दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस सङ्क्रमण देखिएको थियो भने अर्का एक छोरामा नेगेटिभ देखिएको थियो । वैशाख १३ गते २७ वर्षीय छोरा सङ्क्रमणमुक्त भए पनि आमालाई निको हुन समय लागेको थियो । आमासँगै घर जाने बताएपछि सङ्क्रमण निको भएका छोरा पनि अस्पतालकै क्वारेन्टाइनमा बसेका थिए । आमालाई लिएर उनी पनि आज घर फर्किएका छन् ।

अस्पतालका तर्फबाट बिदाइ गर्दै फूल, गुच्छा र डिस्चार्ज दिएपछि खुशी हुँदै आमाले आफूलाई कोरोना भएको भनिए पनि शरीरलाई भने केही नभएको बताइन्। उनले भनिन्, “एकदमै राम्रो छ । आउँदा पनि यस्तै थियो अहिले पनि त्यस्तै छ ।” थपिन, “सबैले मलाई कोरोना भयो भने मलाई त केही पनि भएको छैन ।”

अस्पतालको सेवाप्रति उनी निकै खुशी हुँदै नियमित रेखदेखमा रहेका नर्सिङ कर्मचारीलाई उनले विशेष धन्यवाद दिइन् । बिदाइ गर्दै अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले उनलाई शुभकामना दिए । स्वास्थ्यको ख्याल गर्न अधिकारीको सुझाव थियो । प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले दुई सातासम्म घरमा छुट्टै बस्न अनुरोध गर्दै केही असजिलो भए अस्पताल आउन आग्रह गरे ।

उनले टेलिफोनबाट पनि सामान्य समस्या समाधान हुने बताए। सो अवसरमा नगरपालिका प्रमुख बरालले अस्पतालप्रति विशेष धन्यवाद दिँदै उनीहरुको रेखदेखमा नगरपालिकाले ध्यान दिने बताउनुभयो । सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकप्रति बरालले आभार प्रकट गरे ।

उनीहरु राप्ती नगरपालिका वडा नं ८ का हुन् । चैत ३ गते बेलायतबाट काठमाडौँ आएर ५ गते राप्ती नगरपालिकास्थित घर आएका उनीहरुमध्ये आमाको  वैशाख ३ गते र्‍यापिड डाइग्नोष्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएको थियो । आमामा शङ्कास्पद देखिएपछि आमा र आमासँगै आएका दुई छोराको समेत पिसीआर परीक्षण गर्दा वैशाख ५ गते आमा र एक छोरामा कोरोना पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सङ्क्रमित राखिएको अस्पतालको क्याविनका छ कोठालाई निर्मलीकरण गरेर प्रयोगमा ल्याइने छ । भरतपुर अस्पतालले कोरोना आशङ्का गरिएका बिरामीको उपचार सरकारी भरतपुर अस्पताल र कोरोना अस्पतालमा गर्दै आएको छ भने आफ्नै कोरोना प्रयोगशालामा नियमित परीक्षण गरिरहेको उनले जानकारी दिए। 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि