जेठ ०७, २०८१, सोमबार
               

छिमेकी जिल्लामा कोरोना सङ्क्रमति भेटिएपछि सिरहाका नाका बन्द

रासस
बैशाख ३०, २०७७

ADVERTISEMENT

लहान । कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । 

सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

यसअघि उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेको भन्दै तत्काल उदयपुर जिल्लाबाट हुने आवतजावत रोक्न उदयपुर जिल्लासँग सीमा जोडिएका नाका बन्द गरिएको थियो ।

तर, सप्तरीमा पनि कोरोना सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सीमानाकासमेत बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाइँले जानकारी दिए ।
 
छिमेकी सप्तरी र उदयपुर जिल्लामा सङ्क्रमित पाइएकाले सिरहा जिल्ला पनि उच्च जोखिममा परेकाले ती दुवै जिल्लाबाट हुने गरेको आवतवाजत पूर्णरूपमा बन्द गरिएको र ती जिल्लासँग जोडिएका नाकामा सुरक्षा सतर्कता बढाइएको प्रजिअ गुरागाइँले बताए ।
 
सप्तरी र उदयपुरका विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने र लहानबाट उदयपुरतर्फ आवतजावत भइरहेकाले सिरहा जिल्ला पनि उच्च जोखिममा रहेको भन्दै नागरिक समाजका अगुवाहरुले स्थानीय प्रशासनसँग तत्काल दुवै जिल्लाबाट हुने आवागमन रोक्नुपर्ने माग गरेका थिए ।
 
चितवनमा भवन निर्माणका लागि मजदुरीमा खटेका सप्तरीका ती युवा लकडाउनकै समय गत वैशाख ९ गते पैदलयात्रा गरी सप्तरीस्थित घर आइपुगेका थिए । 

अन्य १३ जना साथीसहित घर फर्केका ती युवालाई पातोस्थित माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।
 
वैशाख २५ गते थ्रोट स्वाब सङ्कलन गरी परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा सात जनाको रिर्पोट प्राप्त भएको र सोही रिर्पोटमा ती युवामा कोरोना सङ्क्रमण देखिएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेट डा चुमनलाल दासले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि