बैशाख १६, २०८१, आइतबार
               

तिहत्तर वर्षपछि सरकारी राहत

रासस
बैशाख २७, २०७७

ADVERTISEMENT

तीन छोरी, एक छोराका बुबा ७३ वर्षीय वीरे बस्नेत लौरीको सहारामा भेरी नगरपालिका–१ पिपेमा राहत लिन आए । ख्याउटे शरीर बुढ्यौली उमेर लठ्ठीको साथमा आएका वीरे हेर्दैमा थकित देखिन्थे। 

राहत बुझदै गर्दा आफ्नो हस्ताक्षर आफैँ गर्न नसकेकामा दुखी हुँदै उनले भने, “हाम्रो पालामा गोरु जमाना थियो, पढ्ने–लेख्ने कुरा कुन चरीको नामजस्तै भएको थियो । के गर्नु हस्ताक्षर गर्ने, ठूलो मान्छे बन्ने चाहना नभएको कहाँ हो र रु विद्यालयको नामै नसुनेर आधा उमेर गएको हो ।” विगतलाई सराप्दै राहत बुझेर जङ्गिएका वीरेले साथमा ७२ वर्षकी श्रीमती जैमती बस्नेतलाई पनि ल्याएका थिए ।

उनले आफ्ना पीरमर्का कसैले नबुझेको भन्दै जति छोराछोरी जन्माए पनि बुढेसकालमा यही बूढी काम लागेकी छ भन्दै राहतस्वरुप उपलब्ध गराएको एक बोरा चामल, नुन, तेल र साबुन थरर कापेर आफू र श्रीमतीले बोकी घर लगेका थिए । छोरा कहाँ छ थाहा छैन । बुहारी आफूबाट छुट्टिएर अर्को घरमा बसेकी छिन् भन्दै उनले थपे, “घरमा खाने अन्नको एक गेडा थिएन, नगरपालिकाले चामल दिन्छ जसरी नि आउनुहोला भन्ने खबर वडाध्यक्ष दीपक बाबुले गरेपछि चर्को घाममा बूढीलाई लिएर आएको हुँ । पहिलोपटक सरकारको राहत पाएको छु ।”

जनयुद्धको समयमा सरकारी सेनाले माओवादीको आरोपमा यातना दिएका कारण अहिले पनि वीरेको शरीर दुखेर रातभर निद्रा लाग्दैन । शरीर दुखे पनि उपचार कसले गरिदिन्छ र रु भन्दै उनले थपे, “पीडा सहेर, रातभर एक्लै चिच्याएर बस्छु, मेरो पीडा सुन्ने को छ र रु” 

वीरेजस्तै गरिब, विपन्न, असहाय र दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने परिवारले राहत पाउँदा खुशी भएको छ । भेरी नगरपालिकाले आजदेखि राहत वितरणको काम शुरु गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । 

दैनिक ज्याला, मजदुरी गरेर छाक टार्ने वर्गलाई समस्या परेको भन्दै त्यस्ता स्थानीयवासीको लागत सङ्कलन कार्य भएकाले सोही आधारमा राहत वितरणको काम शुरु गरिएको नगरप्रमुख घर्तीको भनाइ छ ।  

नगरले पहिलो चरणमा १५ दिनको प्याकेज बनाएर शुक्रबारदेखि वडा नं १, ५ र ६ का विपन्न तथा असङ्गठित क्षेत्रका श्रमिकलाई दाल, चामल, नुन, तेललगायतका सामग्रीहरु वितरण सुरु गरेको हो ।

लकडाउनका कारण मजदुरी तथा ज्यालादारी काम गरेर आयआर्जन गर्न नपाइ समस्यामा परेका परिवारका लागि नगरपालिकाले १५ दिनका लागि उमेरअनुसार खाद्य सामग्रीको मात्रा तोक्दै राहतस्वरुप खाद्य सामग्री वितरण सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए ।
  

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि