जेठ ०५, २०८१, शनिबार
               

विवाहमा दाइजो मास्क र स्यानिटाइजर

रासस
बैशाख २६, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच यहाँ एक जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । वैदिक विधिपूर्वक विवाह बन्धनमा बाँधिएका पोखरा महानगरपालिका  वडा नं  २७ घर भएकी बेहुली अनुषा बाँस्तोला र पोखरा–३० का बेहुला दीविन भट्टराईको बिहीबार सम्पन्न विवाहमा  दुवै पक्षका घरपरिवारका सदस्यको मात्रै उपस्थिति थियो । 

सामाजिक दूरी कायम राख्दै स्थानीय निकायसँग स्वीकृति लिएर विवाह सम्पन्न गरिएको हो । विवाहमा बेहुली पक्षले बेहुला पक्षलाई अन्य कुनै उपहार नभर्इ मास्क र स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री दाइजोका रूपमा दिएका थिए ।

संस्कार र संस्कृतिको संरक्षण गर्दै परम्परागत चलिआएको दाइजो प्रथालाई तोड्दै सन्देशमूलक ढङ्गले विवाह गर्न बेहुलापक्ष राजी भएपछि छोरी दिने निर्णय गरेको बेहुलीका बुबा नेत्रपाणि बाँस्तोलाले जानकारी दिए । सो विवाहले कम खर्चमा विवाह गर्न सकिन्छ र स्वयं आफँैरोगसँग डराउने हो तर काममा डराउने होइन भन्ने दरिलो उदाहरण समेत  बनेको छ ।

यसअघि गत वैशाख १३ गते नै विवाह गर्ने कार्यक्रम तय भए पनि बन्दाबन्दीका कारण प्रभावित भएको र अझै लम्बिने अवस्था आएपछि दुवै पक्ष विवाहका लागि राजी भइएको बेहुलाका बुबा दीपक भट्टराईले बताए। 

यसैबीच विवाहको खर्च कटाएर बेहुली पक्षले विभिन्न १२ वटा सामाजिक सङ्घसंस्थालाई रु पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन् । विवाह समारोहमा नेपाल पत्रकार महासङ्घ कास्की शाखालाई रु ५५ हजार ५५५ सहयोग गरिएको छ ।

बेहुलीका बुबा  बाँस्तोलाले उक्त रकम महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्दै पत्रकारको सुरक्षाका लागि ज्याकेटको व्यवस्थामा सहयोग गरेको बताए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि