जेठ ०६, २०८१, आइतबार
               

दिनभर घरको काममा, राति ओडारको क्वारेन्टाइनमा

रासस
बैशाख २०, २०७७

ADVERTISEMENT

भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहनुभएको छ । उहाँ हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुगेका थिए ।

घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो । आग्रहबमोजिम उहाँसँगै आएका सातजना घर नजिकै रहेको ज्यामिरे ओडारमा गएर बसे । अहिले उनीहरु दैनिक ज्यामिरे ओडारबाट आएर दिउँसो घरमा सामाजिक दूरी कायम गरी मल बोक्नेदेखि घरायसी काम गरिरहेका छन् । 

“खेतबारीमा मल नबोक्ने हो भने बाली सप्रिँदैन, अर्को वर्ष के खाने ?” टार्जनले भने, “हामी राजी, खुशीका साथ राति ओडारमा बस्छौँ । बिहान खाना खाएर नियमित सामाजिक दूरीका साथ घरमा गएर काम गछौँ ।” चौध दिनसम्म ओडारमा खाना र सुत्ने व्यवस्थासहित बसेर घर फर्कने उनीहरुको भनाइ छ । 

अहिले जाजरकोटमा बाहिरी जिल्लाबाट फर्केकाहरु राति क्वारेन्टाइनमा बस्ने र दिनमा सामाजिक दूरी कायम गरी घरायसी काममा जुटेको पाइएको छ । कसैले घरमा गहुँ भित्र्याउने काममा जुटेको पाइएको छ भने कतै मकै रोप्ने काममा लागेको देखिन्छ । अहिले धानको बीउसमेत राख्ने समय भएकाले खेतमा समेत देख्न सकिन्छ । 

नलगाड नगरपालिकाले त्रिभुवन मावि दल्लीलगायत अन्य ठाउँमा क्वारेन्टाइन निर्माण गरेर मानिस व्यवस्थापन गरेको छ । त्यस्तै, बारेकोट गाउँपालिकाले वीरेन्द्र ऐश्वर्य मावि लिम्सा, सरस्वती मावि सिलिङ्गीचौरदेखि अन्य सबै वडामा रहेका विद्यालयमा क्वरेन्टाइन निर्माण गरी १ सय ७६ जनालाई क्वारेन्टाइनमा राखेको छ । 

छेडागाड नगरपालिकाले पनि विद्यालयमा नै व्यवस्थापन गरेको बताएको छ । शिवालय गाउँपालिकाले पायक पर्ने विद्यालयमा नै व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा दुई हजारभन्दा बढी मानिस जिल्लामा भित्रिएका छन् । अझै देशका विभिन्न ठाउँमा अलपत्र परेका मानिस सांसद एवं मन्त्रीको पहलमा जिल्लामा भित्रिने क्रम जारी रहेको छ । जिल्लामा अहिलेसम्म ५०० द्रुत परीक्षणका लागि किट आए पनि क्वारेन्टाइनमा बसेका ४५० जना मानिसको कोरोना भाइरस जाँच गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

 विदेशबाट आएकालाई पहिलो प्राथमिकता बनाएर जाँच गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि