कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि खटिरहेका सुरक्षाकर्मीका लागि एमभी दुगड ग्रुपअन्तर्गत विवेक अटो मोबाइल प्रालि पोखराले स्वास्थ्य सामग्री तथा खाजा सहयोग गरेको छ ।
चितवनको इलाका प्रहरी कार्यालय मुग्लिनको चेकपोष्ट, गण्डकी प्रदेशको मूलद्वार इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको पुलजिप चेकपोष्ट र प्रहरी चौकी मझुवा गोरखाको चेकपोष्टमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीका लागि सो संस्थाले शुक्रबार स्यानिटाइजर, मास्क, पिउने पानी र चाउचाउ सहयोग गरेको हो ।
प्रत्येक चेकपोष्टलाई, १०० थान मास्क, २० थान स्यानिटाइजर, पाँच कार्टुन पिउने पानी र दुई कार्टुन चाउचाउका दरले सहयोग गरेको विवेक अटोमोबाइल प्रालि गण्डकी प्रदेशका प्रमुख अनिल श्रेष्ठले जानकारी दिए ।
लकडाउनको समयमा दिनरात सुरक्षामा खटिएका प्रहरी तथा सुरक्षाकर्मीको स्वास्थ्यलाई ध्यानमा राखी विवेक अटोमोबाइल प्रालि पोखराका कर्मचारी उमेश भट्टराई र राजकुमार श्रेष्ठको सहयोगमा सो स्वास्थ्य सामग्री तथा खाजा वितरण गरेको उनले बताए ।