सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का शङ्कास्पद १० जनाको नमुना जाँचमा आरडिटी पद्धतिबाट पोजेटिभ नतिजा आउँदा पिसिआर पद्धतिबाट नेगेटिभ नतिजा आएको छ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सोमबार आयोजित ‘मिडिया ब्रिफिङ’मा प्रदेशमा आरडिटी पद्धतिबाट सोमबारसम्म कोरोना भाइरसका शङ्कास्पद १२ हजार २ सय ८३ व्यक्तिको नमुना सङ्कलन गरी परीक्षण गरिएकामा १२ हजार २ सय ७३ को नजिता नेगेटिभ आएको जानकारी दिए ।
परीक्षण गरिएकामध्ये १० जनाको आरडिटीबाट पोजेटिभ र पिसिआरबाट नेगेटिभ नतिजा आएको उनले बताए । पिसिआर पद्धतिबाट आजसम्म सङ्कलन गरिएको दुई हजार ७ सय ६३ को नमुनामध्ये दुई हजार ७ सय ६१ को परीक्षण भएकामा दुई हजार ७ सय ५६ को नतिजा नेगेटिभ आएको छ ।
यस विधिबाट गरिएको परीक्षणबाट कोरोना सङ्क्रमण भएको पुष्टि भएका पाँचमध्ये पोजेटिभ देखिएका चारजना केही दिनअघि नै निको भई डिस्चार्ज भइसकेका छन् । दुई नमुना परीक्षणको क्रममा रहेको बताइएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
पछिल्ला दुई हप्तामा यो प्रदेशमा कोरोना सङ्क्रमणको दर स्थिर छ ।