मंसिर ०७, २०८१, शुक्रबार
               

बागलुङमा कोरोना जोखिम टर्दै

रासस
बैशाख १४, २०७७

ADVERTISEMENT

कोरोनाको उच्च जोखिममा रहेको पुष्टि भएका दुई सङ्क्रमित कोरोनामुक्त भएर घर फर्केपछि बागलुङमा कोरोनाको जोखिम टर्दै गएको छ । भेटिएका सङ्क्रमित उपचारपछि निको भएर जानु र नयाँ सङ्क्रमण फेला नपर्नुले बागलुङमा कोरोनाको जोखिम हटेर गएको सर्वसाधारणले महसुस गर्न थालेका छन् । 

बागलुङ नगरपालिका–४ कुँडलेकी १९ वर्षीया अंशु सापकोटा र बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल अस्पतालबाट कोरोनामुक्त भएर घर फर्कनु र नयाँ सङ्क्रमित फेला नपरेका कारण कोरोनाको जोखिम टर्दै गएको दुई कोरोना सङ्क्रमितको सफलतापूर्वक उपचार गराइसकेको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिए।

पोखरेलले बागलुङमा थप कोरोना सङ्क्रमित पुष्टि नहुनु र भइसकेका डिस्चार्ज हुनुले जोखिम हट्दै गए पनि उद्धारका नाममा बागलुङ भित्रिएकाले चुनौती सिर्जना गर्न थालेको  गुनासो गरे ।  “अब बागलुङमा कोरोनाको जोखिम टर्दै गएको हो”, डा. पोखरेलले भन्नुभयो, “उद्धारका नाममा बागलुङ भित्रिएकाबाहेक अरुमा कोरोना सङ्क्रमण नहुन सक्छ, किनकि धेरै एक महिना अगाडि नै बागलुङ आएका थिए ।” 

हालसम्म एक हजार ३० जनामा कोरोनाको द्रुत परीक्षण र १०० बढीको स्वाब परीक्षण सम्पन्न गर्दा दुई जनाबाहेक कसैलाई पनि कोरोना पुष्टि हुन नसकेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिएका छन्।  बागलुङमा पछिल्लो एक हप्तामा झण्डै एक हजार ६ सय जना  भित्रिएका छन् । 

गत चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आउनुभएका बागलुङका दुई सङ्क्रमितमध्ये चैत १५ गते सापकोटा र चैत २० गते पौडेलमा कोरोना पुष्टि भएको थियो । उहाँहरुले आत्मबलका कारण कोरोना जितेर घर फर्केको प्रतिक्रिया दिएका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि