असोज ०६, २०८१, आइतबार
               

महामारीमा अपाङ्गता भएकालाई ध्यान दिन आग्रह

रासस
बैशाख ०५, २०७७

ADVERTISEMENT

कास्की । कोभिड –१९ को महामारीले विश्व आक्रान्त बनिरहेको अवस्थामा उच्च जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिलाई विशेष ध्यान दिन आग्रह गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेशले प्रेस विज्ञप्ति जारी गर्दै अहिलेको विषम परिस्थितिमा महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा अपाङ्गगतामैत्री नीतिअनुरुप समावेशीकरण गर्न प्रदेश सरकारसँग आग्रह गरेको  हो ।

गण्डकी प्रदेशका ८५ वटै स्थानीय सरकारलाई अपाङ्गता भएका व्यक्तिको अवस्थाको जानकारी लिएर सोहीअनुरुपको न्यायोचित कदमका लागि आग्रह गरिएको संघका गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले जानकारी दिए । 'अपाङ्गगता भएका व्यक्तिहरु सधैँ जोखिमको अवस्थामा रहेका हुन्छन्, अहिलेको अवस्था झन् जटिल छ । उनीहरुमा थप समस्या आउन नदिन ८५ वटै स्थानीय तहले अपाङ्गतामैत्री नीतिमार्फत ध्यान दिन जरुरी छ ।'

उनले विशेष गरी अपाङ्गता भएकाहरुलाई घरभाडा, रासनपानी र आवश्यक सरसफाइका सामग्रीमा समस्या देखिएको बताए । 'अतिअशक्तहरुलाई विशेष सहयोगीको आवश्यक पर्ने हुन्छ तर अहिले भौतिक दूरीका कुराले सहयोगीसमेत पाउन गाह्रो छ, अपाङ्गता भएकालाई  अहिलेको अवस्थामा सरकार भएको अनुभूति गराउन जरुरी छ', विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी वित्तीय संस्थाले न्यूनदृष्टियुक्तलाई ‘डिजिटल एप’ चलाउने व्यवस्था नगरेकाले अहिले बैंकमा बचत गरिएको रकम समेत निकाल्न नपाइएको उनको भनाइ छ । शर्माले सञ्चारमाध्यमलाई पनि अपाङ्गता भएकाहरुको आवाज सम्बन्धित निकायसम्म पुप्याउन पहल गरिदिनसमेत आग्रह गरे ।  

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि