सुर्खेत । वीरेन्द्रनगर खुलामञ्चस्थित क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वाब परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि घर पठाइएको छ । क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना संक्रमण परीक्षणमा नतिजा ‘नेगेटिभ’ आएपछि शनिबार १८३ जनालाई घर पठाइएको हो ।
खुलामञ्च क्वारेन्टाइनमा बसेका १८८ मध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी छ । क्वारेन्टाइनको कमाण्ड गरिरहेका नेपाली सेनाको उत्तरपश्चिम पृतनाका सहसेनानी दयाराम ढकालले सुर्खेतका १७ जनालाई शुक्रबार तथा अन्यलाई शनिबार बिदाइ गरिएको जानकारी दिए ।
नेपाली सेनाको व्यवस्थापनमा प्रदेश सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा यही चैत १५ गतेदेखि सुर्खेतका ५७, दैलेखका ८७, कालिकोटका सात, जाजरकोटका २०, जुम्लाका १६ र अछामका एक गरी १८८ जना बसेका थिए । क्वारेन्टाइन सञ्चालनमा आउनुअघि उनीहरुलाई चार दिनसम्म होटल, विद्यालय र गैर सरकारी संस्थाको छात्रावासमा राखिएको थियो । उनीहरु सबै भारतबाट फर्किएका हुन् ।
क्वारेन्टाइनको १९ दिन बसाइ सकेर फर्कँदै गर्दा उनीहरु खुशी भएका थिए । सुर्खेतको चौकुने गाउँपालिका–७ का केशव विकले क्वारेन्टाइन बसाइ राम्रो भएको बताए ।
‘सुरुसुरुमा जेलका रूपमा बुझेका थियौँ, हाम्रै सुरक्षाका लागि रहेछ स्वास्थ्य परीक्षण पनि भयो’, उनले भने, अब त गाउँ जाँदा पनि ढुक्क भइयो ।’ नेपाल भारत सीमाक्षेत्रमा अलपत्र पर्दा सरकारले उद्धार गरी सुरक्षित राखेकामा उनले खुशी व्यक्त गरे ।
दैलेख, दुल्लु नगरपालिकाकी विष्ना बिष्टले कोरोनाको त्रास हटेको बताइन् । ‘भारतबाट आएकाले कतै आफूमा कोरोना छ कि भन्ने त्रास थियो, परीक्षण गर्दा आशंका मेटियो, अब ढुक्क भइयो’, उनले भनिन् । उनी भारतको सुरतबाट आएकी हुन् ।