मंसिर ०७, २०८१, शुक्रबार
               

लकडाउनले वागमती सफाइ महाअभियान प्रभावित

रासस
चैत २३, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न जारी लकडाउनका कारण वागमती सफाइ महाअभियानको ३६०औँ हप्तासमेत प्रभावित बनेको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ता शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सञ्चालन हुँदै आएको थियो ।

चाडपर्व, हिउँद, वर्षा, जाडो, गर्मी जेसुकै परे पनि निरन्तर सञ्चालन हुँदै आएको सफाइ महाअभियान लकडाउन भएपछि चैत १५ गते शनिबार नदीमा कोही निस्कन नसक्ने अवस्था बन्यो ।

चैत १५ गते पहिलोपटक प्रभावित बनेको महाअभियान दोस्रोपटक चैत २२ गते शनिबार पनि अभियानकर्मी नदीमै निस्किएर सफाइ गर्न सकेनन् ।

सरकारले लगाएको बन्दाबन्दीका कारण केही अभियानकर्मीले भने आ–आफ्नो घर वरपर सफाइ गरेरै अभियानलाई निरन्तरता दिए । विश्वमै लामो समय सञ्चालन भएको अभियानका नाममा यसले अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।

वागमती सफाइ महाअभियानबाट प्रभावित भएर उपत्यकामा यसका सहायक नदी, केही टोल र चक्रपथ सफाइ अभियानसमेत सुरु भइसकेको छ ।

उपत्यकाका नदी, टोल र चक्रपथबाट प्रभावित भई देशका प्रमुख शहर, मुख्य नदी एवं ताल, तलाउ र पोखरीमा पनि सफाइ अभियान सुरु भएको छ । बन्दाबन्दी सुरु हुनुअघिको शनिबारसम्म देशभरका १०६ स्थानमा सफाइ अभियान सुरु भइसकेको महाअभियानले जनाएको छ । 

बन्दाबन्दीका कारण नदी किनारमा निस्कन नसके पनि गत हप्ता शनिबार अभियानकर्मीले आ–आफ्नो घरवरपर सफाइ गरेका थिए । पूर्वसचिव एवं सफाइ अभियानकर्मी किशोर थापाले सफाइ महाअभियानको सामाजिक सञ्जाल समूहमा सुरुको नारा पोष्ट गरेपछि घरवरपर सफाइ गर्ने अभियान सुरु भएको थियो ।

उनले नै सामाजिक सञ्जालमा अन्त्यको नारा राखेपछि कार्यक्रम स्थगन भएको थियो । बन्दाबन्दी अघि हप्तामा दुई घण्टा सफाइ हुने गरेकोमा घरवरपर गर्दा भने निरन्तरताका लागि एक घण्टा गरिएको अभियानकर्मीले जनाएका छन् । 

चैत २२ गते शनिबार पनि सबै अभियानकर्मीले आ–आफ्नो घरवरपर सफाइ गरेको वागमती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । वागमती नदी किनार नजिकै तिलगङ्गा क्षेत्रमा घर भएका कारण अभियानकर्मी माला खरेलले भने एक्लै भए पनि नदीमै गएर सफाइ गरिन् ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको सञ्चालक सदस्यसमेत रहेकी खरेल आफू बन्दाबन्दीका बेलासमेत बिहान बेलुका नदी किनारको बाटो भएर प्रभातकालीन हिँड्डुल गर्ने गरेकाले शनिबार बिहान सफाइसमेत गरेको बताइन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि