असोज ०६, २०८१, आइतबार
               

ओरेकदद्धारा मनोविमर्शकर्तामार्फत सेवा प्रदान

रासस
चैत १९, २०७६

ADVERTISEMENT

काठमाडौं। महिला पुनःस्थापना केन्द्र (ओरेक) ले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको विषम परिस्थितिमा मानसिक रुपमा प्रभावित र जोखिपूर्ण अवस्थामा रहेका व्यक्तिलाई मनोविमर्शकर्तामार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।

आजदेखि ३० औ वर्षमा प्रवेश गरेको अवसरमा ओरेकले व्यक्तिहरुमा आएको मानसिक तनाव र त्यसको असरलाई कम गर्न टेलिफोनमार्फत मनोसामाजिक विमर्श सेवालाई प्राथमिकता दिएको जनाएको हो । हाल २८ जना मनोबिमर्शकर्तामार्फत सेवा प्रदान भइरहेको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए ।

कोरोना भाइरस सङ्क्रमणको विपद‍्मा महिला, बालबालिका, अपांगताभएका व्यक्ति र ज्येष्ठ नागरिक, दैनिक मजदुरी गरेर जीवनगुजारा गर्ने समुदाय बढी सङ्कटको अवस्थामा रहेका उनले बताए । कोरोना भाइरस सङ्क्रमणको सन्त्रास, आइसोलेसनमा भएका बेला हुने चिन्ता र तनाव, घरेलु र सामाजिक हिंसामा परेकालाई मनोविमर्शकर्तामार्फत सेवा प्रदान गरिरहेको कार्यकारी निर्देशक न्यौपानेले बताए ।

'महिला तथा किशोरीमाथि हुने हिंसा तथा समस्या र स्वहेरचाह तथा तनाव व्यवस्थापनका लागि मनोविमर्शकर्तालाई सम्पर्क गर्न सकिनेछ, जसले नेपाली, मैथली, भोजपुरीलगायत स्थानीयभाषामा समेत टेलिफोनमार्फत मनोविमर्श सेवा दिनुहुने छ', उनले भने  । यसबाहेक संस्थाका कार्यक्षेत्रमा कोरोना भाइरस, यसबाट सुरक्षित रहने उपाय र स्वहेरचाहका बारेमा सूचना प्रवाह भइरहेको ओरेकले जनाएको छ । साथै संस्थाद्वारा सञ्चालित लैङ्गिक विभेदमा आधारित हिंसाका प्रभावितलाई दिइने सुरक्षावासका सेवालाई निरन्तरता दिइएको छ ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि