असोज ०६, २०८१, आइतबार
               

निःशुल्क वितरण गरेर पनि सकिएन दूध

रासस
चैत १८, २०७६

ADVERTISEMENT

झापा । दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क बाढ्न थालेका छन् ।  गौरीगञ्ज गाउँपालिकाका किसानले दूध नबिकेपछि गाउँलेलाई नि:शुल्क वितरण सुरु गरेका  हुन् ।  डेरीले दूध नलिदा गाउँलेलाई निःशुल्क बितरण गर्दै आएको सो गाउँपालिकाका कृषक राजु साहले जानकारी दिए ।
उनले दैनिक ७५ लिटर दूध उत्पादन गर्दछन् । पाथीभरा कृषि फर्म दर्ता गरेर पशुपालन सुरु गरेका  कृषक साहको मुख्य आयश्रोत नै दूध हो । तीन वर्ष अघिदेखि तीन उन्नत जातका गाई पालन गरेर उनले सो व्यवसाय सुरुवात गरेका थिए ।

गौरादह नगरपालिका – ८ थापा चोक निवासी नारायणप्रसाद गौतमले गौशाला कृषि फर्म दर्ता गरेर उन्नत जातका गाई पालेका थिए । दैनिक ५० लिटर दूध विक्री गर्ने उनको पनि समस्या उस्तै छ । साह र गौतम जस्ता  किसानले उत्पादन गरेको  दूध नबिक्नु अहिलेको साझा समस्या हो । अधिकांश व्यवसायिक पशुपालक  किसानले दैनिक ५० लिटर भन्दा बढी दूध निःशुल्क गाउँलेलाई बाढ्दै आएका छन् ।
 
‘गाउँमा दूध बाढेर पनि सकिदैन’  साहले भने– ‘दुई चार लिटर भए पो बल्लो गाउँ पल्लो गाउँमा दूध दिँदा सकिन्छ, ग्रामीण क्षेत्रका अधिकांशले पशुपालन गरेका छन् प्रायजसो घरैपिच्छे दूध हुन्छ उनीहरुले लाँदैनन् जसले पशु पालेको छैन उनीहरुले मात्र लाँदा हामीले उत्पादन गरेको दूध सकिदैन ।’ साह भन्छन् – ‘दूध फाल्नु पनि त भएन नि ।’
गौरीगञ्ज–खजुरगाछी क्षेत्रका किसानहरूले उत्पादन गरेको दूध  खजुरगाछीको आठमौजा बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको चिश्यान केन्द्रले खरिद गर्दै आएको थियो । आठमौजा सहकारी संस्थाले संकलन गरेको दूध रितिका डेरी उद्योगले खरिद गर्ने गरे पनि अहिले रितिका डेरी उद्योगले दूध लिन छाडेको सहकारीका अध्यक्ष अर्जुन दंगालले बताए ।

एनएमसी डेरी उद्योगका सञ्चालक रामचन्द्र उप्रेतीले काम गर्ने कर्मचारी नै आउन छाडेपछि किसानको दूध सङकलन गर्न नसकेको जानकारी दिए । ‘कर्मचारीले बरु जागिर छाड्छौं भन्छन् तर काममा आउदैनौं भनेपछि किसानको दूध उठाउन नसकिएको हो ’उनले भने 'अहिले उद्योगको उत्पादन २५ प्रतिशत पनि छैन ।'

झापाको मेचीनगरपालिकामा अवस्थित एनएमसी डेरी उद्योगले दैनिक १४ हजार लिटर दूध सङ्कलन गर्दै प्रशोधित दूध र दूधका परिकार झापासहित मोरङ र सुनसरीका विभिन्न बजारमा एकसाता अघिसम्म बिक्री बितरण गर्दै आएको थियो ।

कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सरकारले उच्च सतर्कता अपनाउँदै एक सातादेखि  लकडाउन गरेसँगै डेरी उद्योगले दूध सङ्कलन गर्न छाडेको छ । नेपाल वहुउद्देश्यीय सहकारी संस्था मार्फत सञ्चालन गरिएको डेरी उद्योगले आफ्ना २९ वटा चिस्यान केन्द्र मार्फत दैनिक चारसय किसानको घर–घरमा पुगेर दूध सङ्कलन गर्दै आएपनि अहिले उद्योगले दूध सङकलन गर्न छाडेपछि किसानले उत्पादन गरेको दूध बिकेको छैन ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि