मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना रोकथाम सतर्कतामा ध्यान दिन साझा पार्टीको आग्रह

रासस
चैत १०, २०७६

ADVERTISEMENT

कास्की । कोरोनाको पूर्वतयारीका बारेमा साझा पार्टीले पोखराका विभिन्न अस्पतालका बारेमा जानकारी लिएको छ । साझा पार्टीको केन्द्रीय सदस्यसहित गण्डकी प्रदेश र जिल्ला संयोजकसहितको टोलीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल लगायतमा पुगेर यसबारे जानकारी लिएको हो ।

साझा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारीको नेतृत्वमा अस्पताल पुगेको टोलीले अस्पतालमा कोरोना रोकथाम र पूर्वतयारी आंशिक देखिए पनि पूर्ण नभएको र अझै गम्भीर भएर तयारी गर्नुपर्ने देखिएको बताएको छ । प्रदेश र स्थानीय सरकारले बाहिर प्रचार गरेको अवस्था अस्पतालमा पुग्दा नभएको भन्दै प्रभावकारी बनाउनसमेत आग्रह गरेको छ । कास्की जिल्ला संयोजक अर्जुन खनालले भने, “हामी हरेक अस्पतालमा गयौँ तर त्यहाँ कार्यरत डाक्टर एवं कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री नभएकाले उनीहरू नै त्रसित अवस्था रहेको भेट्यौँ । अन्य कुरामा पनि संवेदनशीलता देखिएको छैन ।”     

साझा पार्टीले सरकारसँगै सम्बन्धित निकायलाई यस विषयमा अझ बढी सचेत हुन सुझावसमेत दिएको छ । सरकारले आवश्क तयारी गरिरहँदा चाहिने स्वयम्सेवी सहयोगी हातहरू अगाडि बढाउन साझा पार्टी सधैँ तयार रहेको अर्का केन्द्रीय सदस्य रजनी केसीले बताइन् । साझा पार्टीले सबै प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि मास्क तथा सानिटाइजर वितरण गरेको उनको भनाइ थियो । यो विषम परिस्थितिमा मिडियाले जनतालाई सकारात्मक र आधिकारिक सूचना प्रवाह गर्दै जनचेतनामूलक सन्देश प्रवाहलाई जोड दिनुपर्ने बताइन् ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि