कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि सरकारले आजदेखि भारत र चीनसितको सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी सुनसान बनेको छ । सरकारले आजदेखि कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम बढ्दै गएपछि भारत र चीनसितको सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो।
नाकाबन्दबारे जानकारी नभएका यात्रुको स्वस्थ्य परीक्षण गरेर मात्र गन्तव्यतर्फ जान दिइएको छ । यात्रु गड्डाचौकीबाट पाँच किलोमिटर वरको भीमदत्तनगरसम्म हिँडेरै आइरहेका छन् ।
बजार पूर्ण रुपमा बन्द छ । सीमानामा सुरक्षा सतर्कता बढाइएको छ । स्वास्थ्यकर्मीको टोली बिहानैदेखि सेवा प्रदान गरिरहेको छ ।
यहाँको मुख्य बजार महेन्द्रनगरसमेत सुनसान छ । पूर्व–पश्चिम राजमार्गमा सर्वसाधारण पैदल नै गन्तब्यतर्फ लागेका देखिन्छ । ठाउँ ठाउँमा प्रहरी टोलीले अनावश्यक रुपमा घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालयले गएराति १२ बजेदेखि लागू हुने गरी यहाँको बजार, व्यापार, व्यवसाय, कलकारखानालगायत बन्द गर्ने निर्णय गरेको थियो ।
“अत्यावश्यक सेवा प्रवाह रोकिएको छैन”, भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले भने, “आइसोलेसन वार्डदेखि अन्य सामग्री र पूर्वाधार निर्माणमा नगरपालिका जुटेको छ ।” यहाँको भीमदत्तनगर बजारमा रहेको सिएमए छात्रावासमा १०० श्ययाको आइसोलेसन निर्माण गर्न नेपाली सेना जुटेको छ ।
सीमानाका, राजमार्ग र बजार क्षेत्रमा उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यातायातका साधन बन्द हुँदा भने यात्रुलाई समस्या भएको छ ।
गड्डाचौकी क्षेत्रको स्थलगत अनुगमन तथा अन्य बजार क्षेत्रको अवस्था बुझ्न नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरधी बालकृष्ण कार्की भीमदत्तनगर आइपुगेका छन् ।