जेठ ०८, २०८१, मंगलबार
               

बुलबुलेमा क्वारेन्टाइन बनाइँदै

रासस
चैत ०९, २०७६

ADVERTISEMENT

सुर्खेत । कोभिड– १९ को सम्भावित जोखिम न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले बुलबुले उद्यानमा क्वारेन्टाइन कक्ष बनाउन सुरु गरेको छ । प्रदेश सरकारको आग्रहमा यहाँस्थित नेपाली सेनाले शनिबार सम्भावित स्थानको सम्भाव्यता अध्ययन सकेर आइतबारदेखि क्वारेन्टाइन कक्ष निर्माण सुरु गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले रेडियो नेपाल परिसर र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गरी एक हजार बेडका क्वारेन्टाइन कक्ष निर्माण गर्ने निर्णय गरेको थियो । विश्वविद्यालयमा ६ सय र रेडियो नेपालमा ४ सय शय्या क्वारेन्टाइन बनाउने भनिए पनि रेडियो नेपाल उपयुक्त नरहेको नेपाली सेनाको अध्ययनले जनाएको छ ।

नेपाली सेनाका उत्तरपश्चिम पृतनापति सरोजप्रताप राणाले रेडियो नेपालको जग्गामा करेन्ट बिच्छ्याइएकाले क्वारेन्टाइनका लागि असम्भव रहेको बताए ।

यसका लागि सेनाले पर्यटकीय स्थल बुलबुले उद्यानलाई रोजेको छ । ‘रेडियो नेपालको टावरमै नौ हजार भोल्ट करेन्ट छ, रेडियो फ्रिक्वेन्सीले पनि क्वारेन्टाइन निर्माण गर्न दिँदैन्’, पृतनापति राणाले भने, ‘त्यसैले बस्तीदेखि टाढा भएको स्थान बुलबुले नै उपयुक्त देखिएको छ, आइतबारदेखि नै बुलबुलेमै क्वारेन्टाइन निर्माणको काम सुरु गर्छौं ।’ 

वीरेन्द्रनगर नगरपालिकाले पनि बुलबुले सबै हिसाबले उपयुक्त रहेको निष्कर्ष निकालेको छ । नगरप्रमुख देवकुमार सुवेदीले बस्तीदेखि टाढा, पानी पर्याप्त भएकाले बुलबुलेमा क्वारेन्टाइन कक्ष निर्माण गर्न सकिने बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले भने क्याम्पस भवनलाई क्वारेन्टाइन बनाउन सहमति दिइसकेको छ । प्रदेश सरकारले टेन्ट, पानी, शौचालयका लागि आवश्यक स्रोतसाधन जुटाएमा एक सातामै एक हजार बेडका क्वारेन्टाइन कक्ष निर्माण गर्न तयार रहेको नेपाली सेनाको भनाइ छ । 

प्रदेश सरकारले १० दिनभित्र भारतमा रहेका कर्णालीवासीलाई फर्किन आह्वान गरिसकेकाले सङ्क्रमित बिरामीलाई सीधै घर जान नदिन क्वारेन्टाइनमा राख्ने तयारी गरेको हो । भारतमा कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि त्यहाँका विभिन्न सहरमा बसोबास गर्दै आएका नेपाली फर्कने क्रम बढ्दो छ ।

घर फर्कने कर्णालीवासीको बबईलगायतका नाकामा स्वास्थ्य परीक्षण गरी शङ्कास्पद बिरामीलाई क्वारेन्टाइनमा राखेर आवश्यक निगरानीका साथै औषधि उपचार गरिनेछ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि