जेठ ०८, २०८१, मंगलबार
               

महोत्तरीका सीमानाका बन्द

रासस
चैत ०९, २०७६

ADVERTISEMENT

महोत्तरी । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँद जिल्लाका भारतीय सीमानाका बन्द गरिएका छन् । जिल्लाको भिठ्ठामोर बाहेकका सबै सीमानाका आवातजावत गर्न समेत पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला  अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न  ११ मुख्य र अरु बस्ती–बस्तीसँग जोडिएका नाका आजदेखि बन्द गर्ने निर्णय गरेको थियो ।

करिब ३८ किलोमिटर भारतसँग सीमा जोडिएको जिल्लामा बाक्लो ओहोरदोहोर हुँदै आएका खैरवनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, इँटहर्वाकट्टी, कटैया, बथनाहा, मधवा, नैन्ही, पर्सापतैली र मटिहानीसहितका नाकाबाट आवतजावत पूर्ण बन्द गरिएको छ ।

यसैगरी रघुनाथपुर, सग्रामपुर, कट्टी, शिशवाकटैया, मुसरपट्टी, मलिवारा र सकरीलगायतका सीमाबाट हुने आवतजावत पनि पूर्णरूपले बन्द गरिएका छन् । बन्द गरिएका नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगमन गस्ती सुरु गरेका जनाइएको छ  ।

सीमाक्षेत्रका सबै स्थानीय तहसँग समन्वय गरेर सीमा वारपार नगर्न लगातार सन्देश प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कोरोना भाइरसको जोखिमविरुद्ध सामूहिक काम गर्न आवश्यक रहेको बताए । जिल्लामा भारतसँग सीमा जोडिएका मटिहानी, जलेश्वर, मनराशिशवासहित तीन नगरपालिका एवं एकडारा र सम्सीसहित दुई गाउँपालिकासमेत पाँच स्थानीय तह पर्दछन् ।

जिल्लाका भिठ्ठामोर र मटिहानीमा उपकरणसहितको स्वास्थ टोली यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि