जेठ ०६, २०८१, आइतबार
               

कोरोना नियन्त्रणको लागि प्रदेश ५ को यस्तो योजना

रासस
चैत ०७, २०७६

ADVERTISEMENT

रुपन्देही । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन प्रदेश नं ५ सरकारले पूर्वतयारी योजना सहित प्रभावकारी अभियान सञ्चालन गरेको छ ।

कोरोनाका जोखिम बारेमा प्रदेशका सबै जिल्लामा सचेतनामूलक कार्यक्रमसँगै सङ्क्रमण देखिएमा क्वारेन्टाइन र आइसोलेसनको समेत व्यवस्था गरिएको छ ।  जोखिम आउन नदिन पूर्वतयारीका लागि विभिन्न १३ बुँदे निर्देशनसमेत सरकारले जारी गरेको छ ।

मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा  बसेको बैठकले कोरोना भाइरस जोखिम नियन्त्रणका लागि सचेनतामूलक कार्यक्रमलाई नै जोड दिएको छ ।

यस्तै प्रदेश सबै जिल्लास्थित जिल्ला प्रशासन कार्यालयले सङ्क्रमणको सम्भाव्य जोखिम न्यून नहुँदासम्म नेपाल–भारत सीमाबाट तीर्थाटनका लागि आवतजावत गर्नेको व्यवस्थापन तथा आवश्यकताअनुसार रोक लगाएको छ ।

बजारमा अत्यावश्यक वस्तुसँगै मेडिकल मास्क, सेनेटाइजर, पञ्जाजस्ता सामग्रीको अभाव हुन नदिने,  ती वस्तुको कृत्रिम अभाव गर्न खोज्नेमाथि कडा कारवाही गर्ने  बैठकले निर्णय गरेको छ ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित उच्च टोलीले अनुगमन गर्ने  र गौतमबुद्ध विमानस्थललगायतका विमानस्थलमा यात्रुको स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउनेजस्ता महत्वपूर्ण तयारी गरिएको छ ।

प्रदेश सरकारले सङ्क्रमण रोकथामका लागि प्रदेशका कुनै पनि निकायमा मानिस भीडभाड हुने गरी कार्यक्रम गर्न रोक लगाइसकेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकृत नारायण अर्यालले जानकारी दिए ।

यससँगै प्रदेशमा रहेका शिक्षण संस्था पनि बन्द गरिएका छन् । सार्वजनिक यातायातमा सर्वसाधारणको आवागमन निकै कम हुँदै गएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ ।

यस्तै यहाँका होटलमा ग्राहकको सङ्ख्यामा समेत निकै कमी आउँदा होटलले कर्मचारीको सङ्ख्यासमेत कटौती गर्न थालेका छन् ।

प्रदेश सरकारले प्रदेशअन्तर्गतका १२ जिल्लाका सर्वसाधारणलाई सेवा उपलब्ध गराउने उद्देश्यले बुटवलको बुटवल धागो कारखाना, दाङको बेलझुण्डीमा रहेको आयुर्वेद अस्पताल र बाँकेको खजुरामा रहेको कपास विकास निगमको भवनमा क्वारेन्टाइन स्थापनाको तयारी थालेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले जानकारी दिए ।

भैरहवास्थित भीम अस्पतालमा तत्कालै तीन श्यया सघन उपचारकक्षसहित ३० श्यया आइसोलेसन एक हप्तामा तयार हुनेछ । प्रदेश नं ५ भारतीय सिमानाका जोडिएका तराईका छ जिल्ला पर्दछन् ।

भारतीय नाका पार गरेर नेपाल आउने सर्वसाधारणका लागि विमानसथल र सीमा क्षेत्रमा प्राथमिक स्वास्थ्य जाँच गरेर मात्र पठाउने गरिएको छ । यसका लागि विभिन्न १८ स्थानमा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको छ । यी केन्द्रबाट हालसम्ममा झण्डै दुई हजार ५०० सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको सहकार्यमा ती स्थानमा क्वारेन्टाइन क्षेत्र बनाउन थालिएको निर्देशक डा. गिरी जानकारी दिए । क्वारेन्टाइनमा ४०० देखि ५०० जनालाई राख्न सकिनेछ ।

प्रदेशका १९ अस्पतालमा ११४ आइसोलेसन तयारी अवस्थामा राखिएको छ । सम्बन्धित अस्पतालमा कोरोना भाइरसको उपचार गर्न र त्यस सम्बन्धी प्रबन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन् ।

प्रदेशका विभिन्न स्वास्थ्य प्राविधिकलाई विशेष तालिम दिएर प्रयोगशाला सञ्चालनमा ल्याइएको स्वास्थ्य उनले जानकार दिए  । प्रदेशमा १३ सरकारी अस्पताल र चार मेडिकल कलेज छन् ।

यस्तै पहाडी जिल्लाका लागि पनि जिल्ला अस्पताल र स्थानीयस्तरमा रहेका स्वास्थ्य केन्द्रमा व्यवस्थापन गरिएको जनाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि