तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङको लमही–तुलसीपुर सडकखण्डबीचका खाल्डाखुल्डी पुर्न थालिएको छ ।
तुलसीपुरको वीरेन्द्र चोकदेखि झञ्ज्याङसम्म पाँच हजार ६०० वर्ग मिटर दूरीमा परेका खाल्डाखुल्डी पुर्न थालिएको सडक डिभिजन कार्यालय दाङका सव–इञ्जिनीयर नारायण दाहालले बताए ।
कार्यालयको ३२ लाख रुपैयाँ लगानीमा उक्त काम सुरु भएको उनको भनाइ छ । सडकबीचमा खाल्डाखुल्डी भएपछि दुर्घटनाको जोखिम बढेको भन्दै पुर्ने काम सुरु भएको दाहालले बताए ।
त्यस्तै, नाला मर्मत गर्ने काम समेत थालिएको छ । उनले भने, ‘दुर्घटना न्यूनीकरण गर्नका लागि खाल्डाखुल्डी र नाला मर्मत गर्न थालेका हौँ ।’
फागुन दोस्रो सातादेखि सुरु भएको उक्त काम एक–डेढ महिनामा सकिने बताइएको छ । ‘फागुन अन्तिम दिनसम्म सक्ने गरी सम्झौता भएको हो, तर काम ढिला सुरु भयो’, उनले भने ।
चिसोमा कालोपत्रे गर्दा गुणस्तरीय नहुने भएपछि ढिला गरी काम शुरु गरेको बताइएको छ । सो कार्यको जिम्मा पे्रमधन निर्माण सेवाले लिएको छ ।
सडक डिभिजन कार्यालयलाई वर्षेनी १० देखि २९ किलोमिटर सडकबीचमा परेका खाल्डाखुल्डी पुर्ने गरी बजेट आउने गर्छ ।
अहिले राप्ती लोकमार्गअन्तर्गत धेरै स्थानमा खाल्डाखुल्डी भए पनि दाङ खण्डको तुलसीपुर बजारदेखि भञ्ज्याङसम्म मात्रै काम गर्ने गरी बजेट आएको बताइएको छ ।