जेठ ०६, २०८१, आइतबार
               

दुई लाख रुपैयाँ घुससहित जिल्ला अदालतका दोभाषे पक्राउ

रासस
फागुन ३०, २०७६

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा कार्यरत विश्वनाथ कुर्मीलाई पक्राउ गरेको छ।

करारमा कार्यरत कुर्मीले ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेकै अवस्थामा आयोगको बुटवल कार्यायलबाट गएको टोलीले पक्राउ गरेको हो । 

आयोगले कुर्मीलाई कपिलवस्तु नगरपालिका–१ महामाया गौढीचोकबाट बिहीबार पक्राउ गरिएको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

यस्तै आयोगले  डिभिजन वन कार्यालय दोलखामा कार्यरत सव डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठलाई स्रोत नखुलेको दुई लाख तीन हजार पाँच सय रुपैयाँसहित पक्राउ गरेको छ । 

काठ व्यापारीसँग घुस लिर्इ सरकारी सवारी साधनमा दोलखाबाट काठमाडौँ आउँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले भक्तपुर गठ्ठाघरबाट श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई बिहीबार पक्राउ गरिएको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको अख्तियारले बताएको छ । 

यस्तै आयोगले सब डिभिजन वन कार्यालय बखरी महोत्तरीका रेन्जर रामआशीष यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। घरायसी चिरान काठ लैजान सहज गरिदिने भन्दै सेवाग्राहीसँग १५ हजार घुस लिएको आरोप यादवमाथि लागेको छ। 

यसैगरी आयोगले साविक जिल्ला शिक्षा कार्यालय म्याग्दीका तत्कालीन इञ्जिनियर श्रीकृष्ण खनाल र तत्कालीन सब इञ्जिनियर प्रमोदकुमार उप्रेतीविरुद्ध आज विशेष अदातमा मुद्दा दायर गरेको छ। धवलागिरि गाँउपालिका–३ मा रहेको सूर्यज्योति आधारभूत विद्यालयको भवन निर्माणको क्रममा अनूचित तरिकाले उनीहरुले ७० हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि