बैशाख २६, २०८१, बुधबार
               

राप्रपालाई वैकल्पिक शक्ति बनाउने उद्‍घोष

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको प्रथम वार्षिकोत्सव उपलक्ष्यमा राप्रपा अध्यक्षहरूले शुभकामना व्यक्त गरेका छन् ।

भर्चुअल अन्तरक्रियामार्फत शुभकामना दिँदै राप्रपा अध्यक्ष कमल थापाले विधिवत् रूपमा राप्रपा एक भइसकेको र आगामी दिनमा राप्रपालाई कांग्रेस र कम्युनिस्टको दाँजोको अग्रणी शक्ति बनाउने दाबी गरेका थिए ।

प्रवासमा रहने नेपालीसमेतको चाहनामा पार्टी एकता गरेको उल्लेख गर्दै उनले मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माणको महायोजना पूरा हुँदैगएको जनाए । अध्यक्ष थापाले कोरोना प्रकोपको कारण पार्टीलाई एकताले अपेक्षाकृत गति नलिए पनि बाँकी कार्यभार छिट्टै पूरा गरिने योजना सुनाए । 

उनले भने- 'विभिन्न जिल्लाहरूमा राप्रपामा प्रवेश गर्नेहरूको संख्या उल्लेख्य रुपमा बढेको छ । यसले उत्साह थपेको छ । अब अब पार्टीको भविष्यबारे कसैले चिन्ता लिन जरुरी छैन ।' 

उनले हिन्दुराष्ट्रकाे एजेन्डा बोकेको पार्टीको चुनाव चिन्ह गाई हुँदा उत्तम हुने भए पनि चिन्हको विषय सहमति र समझदारीको आधारमा टुङ्ग्याइने बताए ।

अर्का अध्यक्ष पशुपति शमशेर राणाले नेपालको चिनारी धर्म,परम्पराले गर्दै आएकोमा धर्म निरपेक्षताले मुलुकको पहिचान गुमेको टिप्पणी गरे । ठुला दलले न्यूनतम इमानदारी र दक्षता प्रदर्शन गर्न नसकेको बताउँदै अध्यक्ष राणाले राप्रपा मात्र मुलुकको वैकल्पिक शक्ति रहेको दाबी गरे ।

प्रवासमा रहेको नेपालीहरूकाे लागि राप्रपा हरप्रकारको सहयोग गर्न तैयार रहेको बताउँदै राणाले अब मुलुकले प्रवासी नेपालीको सहयोग खोजेको बताए ।

अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले टेलिफोनमार्फत प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाको प्रथम वार्षिकोत्सवका उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य विजय खडकाले विश्वको २६ देशमा राप्रपा समर्थित प्रवासी नेपाली एकता समाजको सशक्त संगठन रहेको जानकारी गराए । उनले राजसंस्था ,हिन्दुत्व र समृद्ध नेपालको लागि प्रवासमा ठुलो आकर्षण रहेको बताए ।

सो अवसरमा राप्रपा युरोपको अध्यक्ष सुरेन्द्रमान अमात्य ,युएईका सल्लाहकार विश्वदेव शाह, कतारका अध्यक्ष गौतम रिजाल, वरिष्ठ सल्लाहकार डा.रामकृष्ण निरौला, समाजसेवी दिनेश पोखरेललगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाका अध्यक्ष अजय राजवंशीले सञ्चालन गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि