बैशाख २४, २०८१, सोमबार
               

युएईबाट मंगलबार र बिहीबार हुने ‘उद्धार’ उडान रोकियो, नेपाली झन् समस्यामा

नेपाल फ्ल्यास
असार ०२, २०७७

ADVERTISEMENT

युएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्द भएको छ । नेपाली दूतावास आबुधाबीले सोमबार सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो ।

असार २ र ४ गते नेपाल एयरलाइन्समार्फत युएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएको थियो । दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगन भएको उल्लेख छ ।

उडान रद्द गरिएकोबारे सूचना आइतबारै दूतावासको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको थियो । तर उक्त सूचना तत्काल हटाएर सोमबार फेरि दूतावासले अर्को सूचना जारी गर्दै उडान स्थगन भएको जनायो ।

अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन । नयाँ उडान तालिका प्राप्त भएपछि जानकारी गराउने दूतावासले जनाएको छ ।

 दूतावास पुगे पीडित, तर, कर्मचारीहरूको रुखो जवाफ  : ‘उद्धार गर्ने काम होइन’

घर फर्कने आशमा बसेका नेपालीहरू अहिले थप अन्योलमा परेका छन् । उनीहरू स्वदेश फर्काइदिन माग गर्दै दूतावासको ढोकामा गुहार माग्न थालेका छन् ।

सोमबार दूतावासमा आफ्ना समस्या राख्न पुगेका केही नेपालीले आफूहरुलाई खान–बस्न समस्या हुन थालेकाले छिटो स्वदेश फर्काइदिन आग्रह गरेका छन् । आफूहरू श्रम गर्न आएकाले उद्धारका लागि सरकारले जिम्मेवारी लिनुपर्ने उनीहरूको भनाइ थियो ।

दूतावासको कोठाभित्रैबाट दूतावासका कर्मचारीले घर फर्कने पालो आएपछि फोन गर्ने भन्दै उनीहरूलाई सम्झाउँदै थिए । आफूहरू पालो कुर्न तयार रहेको तर खान–बस्न नै समस्या रहेकाले त्यसको व्यवस्था गरिदिन आग्रह गरे ।

तर कर्मचारीहरूले ‘उद्धार गर्ने काम आफूहरूको नरहेको’ भन्दै रुखो जवाफ फर्काएका थिए । दूतावासका कर्मचारीहरूको व्यवहारले पीडित झनै आक्रोशित बनेका छन् ।


कस्तो लाग्यो ?

यो पनि