बैशाख २५, २०८१, मंगलबार
               

बेलायतबाट नेपाल फर्किन चाहने ३९१ जनाको विवरण पठाइयो

रासस
जेठ २७, २०७७

ADVERTISEMENT

लण्डन । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ । बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण संकलन गरी दूतावासले काठमाडौं पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए । 

दूतावासको पहलमा गठन गरिएको सूचना संकलन समितिमार्फत दिइएको उक्त जानकारीमा भिसाको म्याद समाप्त भई लामो समयदेखि रोकिइरहेका र यसै महिना भिसा सकिनेको सङ्ख्या १५४ जना रहेको छ ।

त्यस्तै रोजगार गुमाई घर फर्कन खोजेका ९४, अध्ययनका लागि आएका र अध्ययन पूरा गरेका विद्यार्थी ५०, नेपाल सरकारले तालिमका लागि पठाएका नेपाली सेनाका अधिकृत तथा अन्य कर्मचारीबाट पाँच जना, परीक्षा र तालिमका लागि आएका चिकित्सक तथा अन्य कर्मचारीबाट २१ र पारिवारिक वा अन्य कारणले नेपाल फर्कनुपर्ने ६५ गरी कूल ३९१ जना रहेका छन् । 

गत हप्ता दूतावासले नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीको विवरण पठाउन सूचना जारी गरेको थियो । सोमबार पठाइएको विवरण नेपाल सरकारले हेरेर सोहीअनुसार निर्णय गरेपछि मात्रै यहाँ विवरण बुझाएकालाई कहिले र कसरी जानेबारे थप जानकारी दिइने दूतावासले बताएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि