बैशाख २५, २०८१, मंगलबार
               

मध्यपूर्वमा १० लाख नेपाली त्रासमा

नेपाल फ्ल्यास
पुस २६, २०७६

ADVERTISEMENT

काठमाडौं । इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन्।

इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष सरकारले निकालेको छ।

मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको जहाज तयारी अवस्थामा राख्ने निर्णय परराष्ट्र मन्त्रालयमा बिहीबार बसेको सबै सरोकारवाला निकायबीचको बैठकले गरेको छ।

बैठकमा परराष्ट्रसहित प्रधानमन्त्री कार्यालय, श्रम, रक्षा, संस्कृति तथा पर्यटन, अर्थ, गृह मन्त्रालयका अधिकारी, नेपाली सेना, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका अधिकारी सहभागी थिए।

नेपाल सरकार पछिल्लो परिस्थितिपछि सतर्क अवस्थामा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए। ‘अहिलेसम्म परिस्थिति बिग्रिसकेको छैन।

आवश्यक परे नेपाली नागरिकको उद्धार गर्न तत्पर अवस्थामा हामी छौँ,’ उनले भने। इराकमा रहेका नेपाली कामदारलाई विमान चार्टर्ड गरेरै उद्धार गर्ने तयारीका लागि पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ।

त्यसको विकल्पमा सरकारले इराकमा रहेका कामदारलई समुद्री मार्ग हुँदै भारत वा साउदी अरबसम्म ल्याउने, भारतसम्म ल्याइएका कामदारलाई बसबाट र साउदी अरबसम्म ल्याइएका कामदारलाई जहाजबाट उद्धार गर्ने गरी योजना बनाएको छ । यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ।

बैठकले खाडी मुलुकको परिस्थिति र नेपालीको सुरक्षा अवस्था विश्लेषण गर्न परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख हरिश्चन्द्र घिमिरेको संयोजकत्वमा अन्तर्निकाय समन्वय समिति गठन गरेको छ।


कस्तो लाग्यो ?

यो पनि