बैशाख १६, २०८१, आइतबार
               

विना निष्कर्ष सकियो सर्वदलीय बैठक

नेपाल फ्ल्यास
भदौ ०३, २०८०

ADVERTISEMENT

काठमाण्डौ – सङ्घीय संसदमा देखा परेको अवारेध छिचोल्ने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । सरकार र प्रतिपक्षी दल दुवैले आफ्ना अडान नछाडेपछि आजको बैठक पनि मा  विना निष्कर्ष सकिएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर बाहिरिएको साढे ६० किलो सुन राजस्व अनुसन्धान विभागले गएको साउन ३ गते सिनामङ्गलबाट बरामद गरेको थियो । त्यही विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गर्दै आएको छ । सरकार र सत्ता गठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानबिन गर्ने बताउँदै आएका छन् । गएको साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको छ । त्यही कारण महत्त्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन ।

आजको बैठकमा  एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका थिएनन् । बैठकमा ओली नगए पनि एमालेका तर्फबाट उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी भएका थिए । 

यस्तै बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए । यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्षसमेत रहेका प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए । 
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियार सहभागी भएका थिए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय जनमत पार्टीकी नेतृ अनितादेवी साह सहभागी थिए । 

सर्वदलीय बैठक विनानिष्कर्ष सकिएसँगै आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पर्सि मङ्गलवार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि