बैशाख २१, २०८१, शुक्रबार
               

उपप्रधानमन्त्री खड्काले देखे विकासमा दलहरूबीच सहकार्यको खाँचो

नेपाल फ्ल्यास
असार ३१, २०८०

ADVERTISEMENT

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विकास–निर्माणका काममा राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको बताएका छन् । उनले राजनीतिलाई गर्नेहरू जनता, मतदाता र भावी पुस्तासँग डर हुनुपर्ने बताए । 
‘चुनावका बेला हामीले मतदातासँग र आम जनतासँग विभिन्न प्रतिबद्धता जनाएका हुन्छौँ, ती प्रतिबद्धता पूरा गर्नु राजनीति गर्नेहरूको प्रतिबद्धता हो,’ आइतबार सुर्खेत क्षेत्र नं. १ मा भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री खड्काले भने, ‘विकास–निर्माण जनताको नासो र सम्पत्ति हो, यी कामहरू गर्दा राजनीतिक दलहरू र राजनीतिकर्मीबीच सहकार्य र समन्वय हुन आवश्यक छ ।’

भेरीगंगा नगरपालिका–८ मा लालपुर्जा वितरण कार्यक्रममा उपप्रधानमन्त्री खड्काले भूमि आयोगमार्फत जग्गाधनी प्रमाणपुर्जा वितरणको काम भइरहेको बताए । ‘सरकारको लक्ष्य कोही पनि नागरिक भूमि विहीन भएर बस्नु नपरोस् भन्ने छ,’ उनले भने, ‘आयोगमार्फत जतिसक्दो चाँडो लालपुर्जा वितरणको काम सम्पन्न गर्ने गरेर तीन तहकै सरकार लागिरहेका छौँ ।’

उनले विगतमा विभिन्न आयोगहरूले काम गरेर पनि जग्गाधनीले लालपुर्जा नपाएका, स्रेस्ता कायम हुन नपाएका, अधुरा कामहरू पूरा गरेर सुर्खेतमा पहिलोचरणमा लालपुर्जा वितरणको  काम भइरहेको बताए । ‘एक–डेढ वर्षमा सबै कामहरू सम्पन्न गरेर यस्ता पुर्जाहरू वितरण गरेपछि दोस्रो चरणमा नयाँ जग्गाको नापी र स्रेस्ता दिने काम सुरु हुन्छ,’ उनले भने, ‘कोही पनि नेपाली नागरिक भूमिहीन भएर बस्नुपर्ने अवस्था हुँदैन ।’

भूमि आयोगले सुर्खेतमा हालसम्म साढे आठ सय जग्गाधनी पुर्जा बनाएर वितरण गरेको छ । उपप्रधानमन्त्री खड्काले कोटमाझखर्क अन्तर्गत जग्गाधनी पुर्जा वितरण चुनौतीपूर्ण रहे पनि केही कानुनी अड्चनलाई पूरा गरेर सहज तरिकाले पुर्जा वितरणको काम सुरु गरिएको बताए ।

उपप्रधानमन्त्री खड्काले भूमि आयोगलाई काम गर्नका लागि केही व्यवहारिक समस्या रहेको बताउँदै ती समस्याहरू समाधान गर्नेतर्फ आफू केन्द्रित हुने बताए । उनले लालपुर्जाको तयारी र वितरणको कामलाई अझै तीव्र गतिमा अघि बढाउन निर्देशन समेत दिएका छन् । आजै
उपप्रधानमन्त्री खड्काले भेरीगंगा नगरपालिका–१० को आँपधारा खानेपानी आयोजनाको उद्घाटन गर्दै  घरमा स्वच्छ खानेपानी पुर्‍याउने सरकार लक्ष्य रहेको जानकारी दिए । 

‘थुप्रै खानेपानी आयोजनाहरू सुरु भएका छन्, केही सम्पन्न हुँदै छन्,’ उनले भने, ‘नागरिकहरूलाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याउने प्रतिविद्धतालाई क्रमैसँग पूरा गर्दै जानेछौँ ।’

यस्तै उपप्रधानमन्त्री खड्काले युवा पुस्तालाई खेलकुदमा अग्रसर गराउने गरेर सरकारले कार्यक्रम ल्याएको बताए । ‘खेलाडी प्रोत्साहन, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा नयाँ कार्यक्रमहरू ल्याएका छौँ,’ उनले भने, ‘खेल क्षेत्रप्रति युवा पुस्ताको आकर्षण बढाउनका लागि सरकार प्रतिबद्ध छ ।’ 

उनले कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागिरहेको बताउँदै कर्णालीलाई खेलमय बनाउने गरेर संघ, प्रदेश र स्थानीय तह लाग्नुपर्ने बताए । राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीको खेलकुद विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

यो पनि