बैशाख ०७, २०८१, शुक्रबार
               

उपप्रधानमन्त्री लिङ्देनले परिचयात्मक कार्यक्रमको सुरुमै खोजे विज्ञता

नेपाल फ्ल्यास
माघ ०३, २०७९

ADVERTISEMENT

राप्रपा अध्यक्ष तथा उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले पदबहालीपछि कर्मचारीसँगको परिचयात्मक कार्यक्रम सुरु हुनासाथ आफू अगाडिको माइक समाते । मन्त्रीले के भन्न लागे भन्ने कौतुहल छायो । 

तर उपप्रधानमन्त्री लिङ्देनले भने परिचय गर्दा आफ्नो नाम र पद तथा अहिले कार्यरत स्थान त आउँछ भने सँगसँगै आफ्नो विशेषज्ञता र सो कार्यालय वा जिम्मेवारीमा आफू कार्यरत रहेको अवधि पनि भन्न आग्रह गरे । 

लिङ्देनले किन यसो भने ? उत्तर सहज छ । उनले त्यहाँ उपस्थित जनशक्तिको विज्ञता बुझ्न खोजेका हुन् । सँगसँगै विज्ञताअनुसारको भूमिका छ कि छैन, त्यो पनि उनले सुरुवातमै जान्न चाहे । अनि उपप्रधानमन्त्रीले आफ्नो मन्त्रालयमा कोही वर्षैसम्म एउटै जिम्मेवारीमा रहे वा नरहेको पनि बुझ्न चाहेको देखिन्छ ।

ऊर्जा मन्त्रालयको सभाकक्षमा खचाखच भरिएको स्वागत समारोहमा लिङ्देनले आफूले मन्त्रालयबाट नतिजा खोजेको बताए । 

लिङ्देनले आगामी पाँच वर्षमा गर्ने कामबारे प्राथमिकता तय गर्न एक कार्यदल गठनको निर्णयमा हस्ताक्षर गरेका छन् । सो कार्यदलमा उनकै चाहनामा गठन गरिएको जनाइएको छ । कार्यदललाई एक महिनाको समय दिइएको छ ।

पशुपतिनाथको दर्शन

आजै शपथपछि लिङ्देनसहित राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्री गरी चारै जना पशुपतिनाथ मन्दिरको दर्शनका लागि पुगेका थिए । 'सनातन धर्ममा आस्था राख्ने नयाँ कामको सुरुवात गर्नु पहिले भगवानलाई सम्झने गरिन्छ । त्यसैले पशुपतिनाथ मन्दिर पुगेर आएका हौँ,' लिङ्देनले भने । 

कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर 

राप्रपाका चारै जना मन्त्रीहरूले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाह राखेका छन् । पदबहालीमा जानुअघि नै राप्रपा प्रवक्ता मोहन श्रेष्ठमार्फत मन्त्रीहरूको कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राख्न लगाइएको थियो । 

सरकारमा राप्रपाबाट एक उपप्रधान, २ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । राप्रपाले वर्तमान सरकारमा सामेल हुनेमा लागि पुस २७ मा पृथ्वी जयन्तीको दिन बिदा दिनुपर्ने सर्त अघि सारेको थियो । त्यसैअनुसार सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ।

राप्रपाबाट विक्रम पाण्डे सहरी विकास र ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनेका छन् भने दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका छन् । 

यो पनि