बैशाख १९, २०८१, बुधबार
               

देउवाको उम्मेदवारीविरुद्ध उजुरी

नेपाल फ्ल्यास
असोज २४, २०७९

ADVERTISEMENT

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी रद्द गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । डडेलधुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएका देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उजुरी परेको हो । 

सभापति देउवाको जन्म मिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको फोटोसहितको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको भन्दै उजुरी परेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । 

मुख्य निर्वाचन अधिकृत वाग्लेका अनुसार नागरिकता र मतदाता नामावलीमा फरक–फरक मिति रहेको भन्दै बीपी कांग्रेसका तर्फबाट उम्मेदवार रहेका कर्ण मल्लले देउवाविरुद्ध उजुरी हालेका हुन् । 

कांग्रेस डडेलधुराका पूर्व सभापति समेत रहेका मल्ल अहिले बीपी कांग्रेसका वरिष्ठ उपसभापति छन् । देउवा प्रधानमन्त्री हुँदा २०५८ मा मल्ल स्वकीय सहसचिव समेत थिए । 

डडेलधुराका मुख्य निर्वाचन अधिकृत वाग्लेले देउवाविरुद्ध उजुरी परेको पुष्टि गरेका हुन् । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि डडेलधुरामा देउवासहित ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यसैगरी प्रदेशसभा सदस्यतर्फ १४ जनाले उम्मेदवारी परेको छ ।

यो पनि